कपिलवस्तु : हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय अरबी भाषा दिवस मनाउने गरिन्छ । यो दिन प्राचीन र समृद्ध भाषाहरू मध्येको एक अरबी भाषाको महत्त्व उजागर गर्न समर्पित छ ।
१९७३ मा संयुक्त राष्ट्र संघले अरबी भाषालाई आफ्नो आधिकारिक भाषाहरूमा समावेश गरेको थियो । यो दिवस केवल उत्सव मात्र होइन, यो भाषा सांस्कृतिक र बौद्धिक सम्पदाको रूपमा उजागर गर्ने अवसर रहेको राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफीले बताए ।
अरबी भाषा केवल अरब देशहरूका नागरिकहरूबीच संवादको माध्यम मात्र नभई, मानवतालाई प्राचीन ज्ञान र संस्कृतिसँग जोड्ने साधन पनि हो । यो कुरानको भाषा हो, जुन विश्वभरका डेढ अर्बभन्दा बढी मुस्लिमहरूको जीवनमा धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ ।
नेपाल, जो एक गैर-अरब देश हो, यहाँ अरबी भाषा र मुस्लिम समुदायबीचको गहिरो सम्बन्धले एउटा अद्वितीय उदाहरण प्रस्तुत गरेको छ । नेपालका मुस्लिमहरूले अरबी भाषालाई धर्म र उपासनाको भाषाका रूपमा उपयोग गर्दछन् । यो भाषा उनीहरूको धार्मिक क्रियाकलाप, जस्तै नमाज, कुरान पाठ, शरीयत शिक्षा र प्रार्थनामा महत्वपूर्ण भूमिका खेल्दछ । नेपालमा अरबी भाषालाई मिलेको सम्मानमा राष्ट्रिय मदरसा संघ नेपालको ठूलो योगदान रहेको राष्ट्रिय मदरसाका महासचिव मौलाना मशहूद खां नेपालीले जिकिर गरे ।
२०७८ सालको जनगणनाका बेला एउटा व्यापक आन्दोलन चलाएर यस आन्दोलनको उद्देश्य अरबी भाषालाई नेपाली मुस्लिमहरूको जीवित परम्परा रूपमा मान्यता दिलाउने र यसलाई आधिकारिक रूपमा सूचीबद्ध गराउने थियो । तर, हालको जनगणनामा अरबी भाषालाई विदेशी भाषा भनेर सूचीबाट हटाइएको छ । अरबी भाषालाई यसको सही स्थान दिलाउन आन्दोलन जारी रहने महासचिव नेपालीले बताए ।
नेपालमा अरबी भाषाको प्रचार-प्रसारमा इस्लामी मदरसाहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यी मदरसाहरूमा अरबी व्याकरण, साहित्य र वक्तृत्वकलासँगै इस्लामी शिक्षा पनि अरबी स्रोतबाट पढाइन्छ ।
जामिया सिराजुल उलूम अस-सलफिया, झण्डानगर, नेपालका प्रमुख शिक्षण संस्थानमध्ये एक हो, जसले अरबी भाषा र इस्लामी ज्ञानको सेवा गरिरहेको छ । १०९ वर्षअघि स्थापना भएको यो संस्था मुस्लिमहरूको शिक्षा र प्रशिक्षणको मुख्य केन्द्र बनेको छ।
नेपालका मुस्लिमहरू अरबी भाषाको सेवामा अनुवाद कार्यमा पनि सक्रिय छन् । थुप्रै इस्लामी ग्रन्थहरूको अरबीबाट नेपाली र नेपालीबाट अरबीमा अनुवाद गरिएको छ । यस प्रयासले अरबी भाषाको प्रचार-प्रसार र इस्लामी संस्कृतिलाई नेपाली समाजमा प्रस्तुत गर्न सहयोग पुर्याएको छ ।
नेपालमा अरबी भाषाको उपस्थिति सीमित भए पनि, मस्जिद, मदरसा र धार्मिक कार्यक्रमहरूमा यसको प्रमुखता देख्न सकिन्छ । मुस्लिमहरूको धार्मिक र सांस्कृतिक पहिचानको अभिन्न हिस्सा भएकाले अरबी भाषाले नेपाली समाजमा विशेष स्थान राखेको छ।
अन्तर्राष्ट्रिय अरबी भाषा दिवसको अवसरमा, नेपालका मुस्लिमहरूले सारा मुस्लिम उम्मतलाई शुभकामना दिन्छन् र यस भाषाको सेवा र विकासका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँछन् ।
नेपालमा, शैक्षिक संस्था, राष्ट्रिय मदरसा संघ र अन्य संगठनहरूले नयाँ पुस्ताबीच अरबी भाषाको प्रचार र यसको बौद्धिक तथा व्यावहारिक उपयोग सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
अरबी भाषा सांस्कृतिक र बौद्धिक सम्पदा हो । नेपाल र विश्वका हरेक कुनामा यो मुस्लिमहरूको आध्यात्मिक र सांस्कृतिक जीवनको केन्द्र हो, र यसको उन्नति र प्रचार हाम्रो सामूहिक जिम्मेवारी रहेको अध्यक्ष कुफीको मान्यता छ ।