
काठमाडौं : गत असोज ३० गते पद तथा गोपनीयताको सपथ लिएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो । तर उनले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरिन् । सधैं किचलोका बीच गठन हुँदै ढल्दै गर्ने मधेश प्रदेश सरकार नटिक्नुको कारण संसद्मा कसैको पनि बलियो मत नहुनु हो ।
प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेल भइरहेको आभास भएकाले आफूले राजीनामा दिएको सोनालले बताए । लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगर्नेहरू प्रदेश सभा नै विघटन गर्नेतर्फ लागि परेको उनको आरोप छ ।
‘प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेल भइरहेको छ । आगामी समयमा जसले बहुमत पुर्याउँछ उसले सरकार वैधानिक ढंगले बनाओस् भन्ने अभिप्रायले मार्ग प्रशस्त गरें’, उनले भने ।
संघीयता र प्रदेशलाई समाप्त गर्ने खेल भएकाले चिया खाने नाममा, पिसाव फेर्ने नाममा बाहिर गएर विश्वासको मत असफल बनाउने काम भएको उनको भनाइ छ । सोनालले भने, ‘सत्ता पक्षका माननीयहरू कोही केही बेरका लागि बाहिर गएका छन्, कोही खाजा खान निस्किएका थिए । त्यो देखेर आफूले सभामुखलाई आधा घण्टा रोकेर वातावरण बन्न दिन आग्रह गरें । तर पटक पटक बेल बजाइ नै राखेपछि म राजीनामा दिने निर्णयमा पुगें ।’
लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन भएपछि उनलाई आफ्नै दलका सांसदले विश्वासको मत नदिने घोषणा गरेका थिए । १०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकार बनाउनका लागि ५४ जना सांसदको आवश्यक पर्छ ।
जनमतबाट पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी अनुपस्थित भएकी थिइन् । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले सदनमै विद्रोह गरेका थिए ।