-सरस्वती ढुङ्गाना
बढ्दो जलवायु परिवर्तनको विश्वव्यापी असर अब हरेकका भान्छामा पनि पर्न थालेको छ । जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन् । कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न गएको छ । किसानमा जनचेतनाको कमीका कारण र वैकल्पिक उपाय नखोज्दा आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।
संविधानको धारा ४४ ले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आमउपभोक्ताले त्यो अधिकार प्रयोग गर्न पाएका छैनन् । उल्टै बाध्य भएर विषादीयुक्त तरकारी खान विवश छन् । नचाहँदा–नचाहँदा पनि हरेकको भान्छामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन्, जसले गर्दा ढुक्कसँग तरकारी खान सक्ने वातावरण पनि छैन । हरियो तरकारीमा विषादीको प्रयोग बढेका कारण मानिसमा गम्भीर खालका रोग लाग्ने गरेको पाइन्छ । कालीमाटी तरकारी तथा फलफूल बजारस्थित प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार विभिन्न तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । रिपोर्टमा जनाइएअनुसार सिमी, काउली र गोलभेंडामा अत्यधिक विषादीको अवशेष पाइएको छ, जसका कारण ती तरकारीमा बढी मात्रामा विषादीको प्रयोग भएको स्वतः देखिन्छ ।
विगतको तुलनामा चालू आर्थिक वर्षमा कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ । आर्थिक वर्ष २०७४÷७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी जाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो । यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा ३ हजार १ सय २४ नमुनामा दुईवटामा विषादी पाइएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ को २० माघसम्म १ हजार ४ सय २ वटा नमुनामध्ये १२ वटामा अत्यधिक विषादी पाइएको छ । चितवनबाट ल्याइएको काउलीमा परीक्षणपश्चात् बढी विषादी भएको पाइएको छ । चालू आर्थिक वर्षमा विषादी प्रयोगशालामा १४ सय २ नमुना जाँच गर्दा १२ वटामा खान नमिल्ने रातो रङ देखाइएको थियो भने तीनवटामा केही दिन पर्खेर खान मिल्ने वा पहेँलो रङ र १३ सय ८७ नमुनामा खान मिल्ने पाइएको थियो ।
जबकि हरियो तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत हुँदा खान मिल्छ । ३५ देखि ४५ प्रतिशतसम्म हुँदा केही दिन पर्खेर खान मिल्छ भने ४५ प्रतिशतभन्दा बढी हुँदा खान उक्त तरकारी खान मिल्दैन ।
नेपालमा बर्सेनि थुप्रै रकम विषादीमा खर्च हुन्छ, जुन रकम सहजै विदेश जान्छ । यदि जैविक विषादीको प्रयोग गर्ने हो वा शत्रुजीवको व्यवस्थापन गरी खेती गर्ने हो भने पक्कै पनि हानिकारक विषादीबाट आमउपभोक्ता पीडित हुनु पर्दैन । त्यसो त नेपालमा विषादीको प्रयोग भयावह रूपमा दिनप्रतिदिन बढ्दै गैरहेको छ । बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्जीकृत भएका १ सय १६ वटा विषादीहरू छन्, जसमध्ये ५२ वटा सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई मुसानाशक र दुई किसिमका झारपातनाशक छन् । द्रुत विषादी अवशेष विश्लेषण एकाइ स्थापनापछि कालिमाटीमा २०७१ असार ५ देखि तरकारीको नमुना परीक्षण थालिएको थियो । एकाइअन्तर्गतको प्रयोगशालाले तरकारीमा रासायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गरेको थियो । विषादीको प्रयोग १० देखि १५ सम्म हुनुलाई सामान्य मान्न सकिन्छ । त्यो जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । प्रारम्भका दैनिक २० ÷२२ वटा तरकारीका नमुना संकलन गरी परीक्षण गर्ने गरेकोमा अहिले मुस्किलले दैनिक तीन–चारवटा मात्रै नमुना परीक्षण गरिन्छ । सरकारले अन्य प्रदेशमा पनि तरकारी वा फलफूल परीक्षण गर्ने व्यवस्था मिलाएको छ त्यसको हालत पनि उही कालीमाटीकै जस्तो छ ।
त्यसो त अन्तर्राष्ट्रिय रूपमा रासायनिक विषादीविरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था पानको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष ४ करोड मानिसमा विषादीमा असर गरेको पाइएको छ । विश्वमा विषादीकै कारण हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ, जसमा सबैभन्दा बढी बालबालिका र महिला छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रतिदिन ७ सय जना व्यक्ति विषादीयुक्त खानाका कारण मृत्यु भएको देखिन्छ ।
विश्वमा विषादी सेवन गरी आत्महत्या गर्ने मानिसको संख्या ३१ प्रतिशत रहेको छ । कृषिवस्तु उत्पादन र उत्पादकत्व वृद्धिका लागि त्यसको प्रयोग महत्वपूर्ण मानिए पनि त्यसको सुरक्षित प्रयोग, भण्डारण, प्रयोग गर्ने तरिका र ज्ञानका अभावमा साथै त्यसको विसर्जन नगरिँदा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परेको देखिन्छ । कुनै विषादीको प्रयोग तत्कालै देखिन्छ भने कुनैको दीर्घकालसम्म असर पार्न सक्दछ ।
नेपालमा सर्वप्रथम विषादीको प्रयोग सन् १९५२ मा औलो रोग नियन्त्रण गर्न डीडीटी आयात गरिए पछि सुरु भएको हो, जुन प्रयोजनका लागि पुनः १९५५ मा डीडीटी आयात गरियो । त्यस्तै, नेपालमा विषादी उत्पादन गर्नका लागि सन् १९७७ मा कपिलवस्तुको बहादुरगन्जमा कारखाना नै स्थापना गरिएको थियो । नेपालमा कृषि उत्पादनमा प्रयोग हुने विषादी ज्यादै कममात्रामा रहेको छ । विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्रै विषादीको प्रयोग हुने गरेको छ जुन विश्वका अन्य मुलुकको तुलनामा कम हो । जब कि माल्टामा प्रतिहेक्टर १६ केजी ७७ ग्राम रासायनिक विषादी प्रयोग हुने गर्छ । कोरियामा प्रतिहेक्टर १४ किलो ७४ ग्राम, जापानमा १४ किलो १८ ग्राम, चीनमा १० किलो ४५ ग्राम, अमेरिकामा ३ केजी ८ सय ८६ ग्राम रहेको छ भने भारतमा प्रतिहेक्टर २ सय ६१ ग्राम विषादी प्रयोग भइरहेको छ ।
नेपालमा प्रत्येक वर्ष भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । विश्वमा प्रतिवर्ष करिब २० लाख मेट्रिक टन विषादी प्रयोग हुने गरेको पाइन्छ । त्यसमा ४७ दशमलव ५५ झारनाशक, २९ दशमलव ५५ प्रतिशत कीटनाशक, १७ दशमलव ५५ प्रतिशत ढुुसीनाशक, ५ दशमलव ५५ प्रतिशत अन्य पर्छन् । विश्वमा करिब २ करोड ६० लाख मानिसमा बर्सेनि विषादीको असर परेको देखिन्छ भने करिब २२ लाख मानिसको मृत्यु यसको प्रयोगबाट हुने गरेको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रको अध्ययनले देखाएको छ ।
तसर्थ नेपाल सरकारले पनि संविधानले सुनिश्चित गरेको सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार प्रयोग गर्ने काम गर्ने दायित्व पूरा गर्नु आवश्यक छ ।
नेपालीहरू बाध्य भएर विषादीयुक्त तरकारी खान विवश छन् र नचाहँदा–नचाहँदै पनि हरेक नेपालीको भान्छामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन् । तरकारीमा विषादीको प्रयोग बढेका कारण नेपालीहरूमा गम्भीर खालका रोग लाग्ने गरेको पनि पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारस्थित प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्टअनुसार मात्रै नभएर परीक्षणबिना नै हामीले खाइरहेको विभिन्न तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएको छ । तसर्थ अत्यधिक विषादीको अवशेष नरहने गरी स्वस्थ तरकारी खाने वातावरण बनाउन पनि सरकारले प्रोत्साहन गर्न आवश्यक छ । स्वस्थ नागरिक नै देशको धन हो । स्वस्थ नागरिक नभई देशको उत्पादकत्व बढ्न सक्दैन, साथै स्वास्थ्यमा गर्ने खर्चको छुट्टै व्यवस्था गर्नुपर्ने बजेट शिक्षा तथा अन्य विकाकका कार्यमा खर्च गर्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies