२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

जी. बी. राईसहित १९ विरुद्ध मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार दर्ता हुने

shivam cement
२०८१ पुष ६ गते ०६:३५
जी. बी. राईसहित १९ विरुद्ध मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार दर्ता हुने

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका जी. बी. राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पुर्जी जारी भएका गितेन्द्रबाबु राई (जी. बी.)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जी. बी. राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने बाँकी प्रतिवादीविरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोगपत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुने छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा अर्को अभियोगपत्र पेस हुने छ । शुक्रबार मुद्दा दर्ता भएका सबै प्रतिवादीहरू फरार छन् ।

केहीको हकमा सम्पत्ति शुद्धीकरणको अभियोग पनि छ ।

प्रहरी हिरासतमा रहेका रवि, छविसहित जी. बी.का साझेदार नेचर हब्र्सका संचालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका संचालक कृष्ण गुरुङको मुद्दा आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत वर्ष २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसंचालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भवीश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जी. बी. राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर के. सी., दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।

प्रहरीले सूर्यदर्शन सहकारीका वचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले १९ असोजमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, फेरि जाहेरी परेकाले अभियोजन पेस गरिएको न्यायाधिवक्ता काफ्लेले बताइन् ।

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐनअनुसार बिगो बराबरको जरिमाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जी. बी. राई समूहले नक्कली शेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका संचालक तथा पदाधिकारीले कृत्रिम शेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

जी. बी. समूहले २०६५ सालमा पोखरामा खोलेको सूर्यदर्शन सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको प्रतिवेदनमा छ ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।  

सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा राई, लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ । 

तत्कालीन समयमा १ हजार ३६ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । 

उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । सहकारीमा जी. बी.को कार्यकालमा २१ करोड २४ लाख, उनका दाजु भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख र वर्तमान अध्यक्ष थानबहादुर बुढाको पालामा २७ करोड हिनामिना भएको अनुसन्धानबाट देखिएको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार १९ जना प्रतिवादीबाट १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबीका साथै ८ देखि १० वर्ष कैद सजाय माग गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise