दोहा, कतार : डाक्टर बाबुराम भट्टराई समर्थक भ्रातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
शुक्रबार कतारको औधोगिक क्षेत्रमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम साहीको नेतृत्वमा भएको भेलाले दुई शाखा उप-समुह सनैया 'क' र 'ख' गठन गरेको हो । अध्यक्ष साहीले नेपालको तरल राजनीति र डाक्टर भट्टराईकै गृह जिल्ला गोरखामा स्थानीय उपनिर्वाचनले दिएको मत परिणामले गर्दा संगठन विस्तारको कार्यलाई स्वदेश र विदेशमा संगठनलाई अझै मजबुत बनाउँदै विस्तार कार्यलाई जोड दिनुपर्ने भएकाले उक्त कार्यको थालनी गरिएको मध्यान्हलाई बताए ।
समाजले दुई उप शाखामा गरी झन्डै ५० भन्दा बढी अस्थावान पार्टी समर्थकलाई संगठनमा आबद्धता गरेको छ । औधोगिक क्षेत्र 'क'मा सरोज कुमार महतोको नेतृत्वमा इकाइ 'क' र रुद्र बहादुर कटुवालको नेतृत्वमा सनैया औधोगिक क्षेत्र इकाइ 'ख' गठन गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दोहाको सिंगो नेपाली समाजभित्रको बेथिति र श्रमिकको हकहितमा बोल्दै, दुःख र अन्यायमा परेकाहरुको सहयोगीको भूमिकामा काम गर्दै आएको छ । दोहामा पछिल्लो समय राहादानी नवीकरणका लागि श्रमिकहरुले स्लट नपाइरहेको अवस्थामा श्रमिकहरुले झन्झट, सास्ती खेप्नुपरेको नमिठाे यथार्थलाई संगठनका प्रवक्ता ध्रुव क्षेत्रीले राजदूतसमक्ष ध्यानाकर्षण गराएका छन् ।