सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन् ।
नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए ।
“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, “जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ । यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन । वातावरण जोगाउँन सिकाउँछ । यी प्रेरणाहरु मानव जातिका लागि आवश्यक छन् । समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।”
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे ।
जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकोमा प्रशंसा गरे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवाहरुलाई सम्मानित गरिएको थियो ।