काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।
जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलहरू चरम भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यी दलहरूले सरकार फेरिनासाथ एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भ्रष्टाचार लुकाउने प्रयास गर्दै आएका बताए ।
उनले भने, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरू सबै कमिसनखोरीमा गाँजिएका छन् । अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन् । त्यसैले यी ठूलाठूला नेताहरू पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन् । प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ । आफ्नो लुकाउँछ ।’
भट्टराईले देशको मुख्य समस्या गरिबी र बेरोजगारी भएको पनि स्पष्ट पारेका छन् । उनले भ्रष्टाचारको अन्त्यका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने र त्यसले सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने दाबी पनि गरे । उनले भने, ‘यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने । चाहे कांग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेसवादी दलहरू भन्नुस् । यो त पटक पटक तपाईंहरूले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौँ । त्यसले सबै भ्रष्टाचारीहरूको छानविन गरेर यिनलाई कठघरामा उभ्याउँछौँ । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ ।’
आर्थिक विकास र सुशासनमा केन्द्रित गर्दै २० वर्षभित्र देशलाई गरिबीबाट मुक्त गर्ने योजना आफ्नो दलसँग भएको दाबी पनि उनले गरे । संघीयताका अपूर्णतालाई समाधान गर्नका लागि उनले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने र केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक संसद्को मोडल अपनाउने योजना उनले जनाए ।