२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’

himalayanlife
२०८१ पुष ७ गते १०:५५
Shares
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’

गण्डकी : कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस-कपुचे-कोरी-क्होलासोँथर-याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम  अन्तर्गत सिक्लेसमा आयोजित अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् ।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताइन् । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

संघका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजंग गुरुङले यो क्षेत्र गुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताए । सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उनले बताए ।

मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले क्होलासोँथरबाट गुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गरे।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राखे ।

सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा  शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीय स्थल छन् ।

आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी संघले सहयोग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर