२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

Nada
२०८१ पुष ७ गते १२:०४
Shares
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुराः जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । 

ncell

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रुपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नम्बर ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । 

यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए । 

भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नम्बर ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए । वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत सङ्कलन भइरहेको जनाइएको छ ।

प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे ।   

ताजा खबर

सम्बन्धित खबर