दोहा, कतार : श्री सद्भाव युवा समाज कतारले गुल्मीका मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले गुल्मीको ईस्मा गाउँपालिका-७ का दुवै मिर्गौला फेल भएर उपचाररत सागर रायमाझीको उपचारका लागि १७ हजार ७ सय रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका उनी डिउटीबाट फर्कने क्रममा एक्कासी बिरामी परेपछि कुवेतमै चेकजाँच गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।
कम्पनीले उपचारमा सघाउन नसकेपछि कुवेतबाट नेपालीहरूको सहयोगमा नेपाल फर्केर टिचिङ हस्पिटल काठमाडौंमा डायलासिस गराइरहेका छन् । सागरलाई उनकी आमाले मिर्गौला दिन तयार हुँदा पनि प्रत्यारोपण गर्नका लागि रकम अभाव भएको जानकारी पाएपछि सहयोग गरिएको समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए । बुढेसकालको सहारा अस्पतालको बेडमा लडेपछि अभिभावकले छोराको जीवन रक्षाका लागि सबै नेपाली समक्ष अपिल गरेका छन् । बिरामीलाई सहयोग गर्न चाहनेहरूले सागरकी आमा विष्णु रायमाझीको ग्लोबल आइएमई बैंकको खाता नं: ०७००७०१००११८३३ सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।
त्यस्तै समाजले लामो समयदेखि मुटु, कलेजो, फोक्सोसम्बन्धी रोगले ग्रसित स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नं. ११ निवासी कृष्ण बहादुर विश्वकर्मालाई समेत १८ हजार ६ सय १० रुपैयाँ सहयोग गरेको छ । कतारको स्थानीय कम्पनी कतार एयरवेजमा कार्यरत नेपालीहरू मिलेर स्थापना गरेको श्री सद्भाव युवा समाजले सामाजिक सद्भाव र आपसी सहयोगका लागि आवश्यकता अनुसार नेपालभर नै सहयोग गरिरहेको छ ।