२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

पर्वत समाज कतारको अधिवेशनको खुला सत्र सम्पन्न, बन्द सत्रबाट बन्न सकेन नयाँ कार्यसमिति

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष ७ गते २०:५०
पर्वत समाज कतारको अधिवेशनको खुला सत्र सम्पन्न, बन्द सत्रबाट बन्न सकेन नयाँ कार्यसमिति

दोहा, कतार : खुला र बन्द गरी दुई चरण सम्पन्न भयसँगै सम्पन्न हुने अधिवेशनको खुला सत्र सकिएको ३ दिन बित्दा पनि पर्वत समाज कतारको सातौं अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्न सकेको छैन । गत शुक्रबार २२औं स्थापना दिवस, विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमका साथ सम्पन्न अधिवेशनको खुला सत्र भव्य भए पनि बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुन सकेको छैन ।

शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको अधिवेशनको खुला सत्र राति ८ बजेसम्म चलेको थियो । शुक्रबारै मध्यरातसम्म नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिए पनि सहमति हुन सकेन । निर्वाचन समितिले शुक्रबार रातिको बन्द सत्रलाई शनिबार साँझ सार्दै सहमतिको प्रयास गरे पनि सहमति जुट्न सकेको छैन । विशेष त अध्यक्ष पदका आकांक्षीद्वय आनन्द जिसी र सन्तोष क्षेत्रीबीच सहमति जुट्न नसकेपछि शनिबार रातिको बन्द सत्रलाई आगामी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । अध्यक्षका आकांक्षी क्षेत्रीले २०२१-२३ कार्यसमितिमा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने जिसीले २०२२-२४ कार्यकालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । बन्द सत्रमा सहभागी एक आकाक्षिका अनुसार अध्यक्ष बाहेकका अन्य पदमा पनि बहुआकांक्षी देखिएको र सहमति भइनसकेको बताए ।

अधिवेशनको खुला सत्र समाजका अध्यक्ष रघुनाथ शर्माको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टले कतारको नीति नियमलाई मनन गर्न आग्रह गर्दै सांस्कृतिक कार्यक्रम गर्दा कतार सरकारबाट अनुमति लिन आग्रह गरे । भट्टले कतारमा श्रमिकले पासपोर्टको फाराम भर्न नसकिरहेको प्रति लक्षित गर्दै फरक फरक ४ जना परराष्ट्रमन्त्रीसमक्ष श्रमिक र स्लटका समस्या राख्दा पनि सुनुवाइ नभएको बताउँदै जसले चर्का भाषण गरे पनि समस्या यथावतै रहेको बताए । उनले अहिले कतारमा नयाँ राजदूत आएको बताउँदै राजदूतले चाहँदैमा पनि स्लटको समस्या समाधान हुन नसकेको उदाहरण समाजमा प्रष्ट रहेको बताए । उनले राजदूतसँग कतारका संघसंस्था प्रमुखहरू सहितले आउँदो शुक्रबार परिचयात्मक अन्तर्क्रिया कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी दिए ।

नृत्यांगना रेजिना गुरुङ, म्याग्देली मौलिक थाली नृत्यांगना यमुना पटेल, गायिका रेश्मी सेन्चुरी, जुनु प्रसाईंलगायतका कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा स्वास्थ्य जीवनका लागि राम्जी खत्रीले स्व-जागरण ध्यानको अभ्यास गराएका थिए । अधिवेशनमार्फत समाजका विभिन्न गतिविधिमा सहयोग गर्ने संघसंस्था, पत्रकार, कलाकारसहित संस्थापक कार्यसमिति, निवर्तमान कार्यसमितिका पदाधिकारीहरू सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । अधिवेशनमा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । थुप्रै वक्ताहरूले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजका गतिविधिको प्रशंसा गरेका थिए ।

सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशन पञ्चेबाजासहित समुद्घाटन गरिएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक आनन्द जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा अञ्जली परियारले स्वागत नृत्य पेस गरेकी थिइन् । समाजका सचिव भरत मल्लले कार्यकाल अवधिको प्रतिवेदन पेससहित कार्यक्रमको सहजीकरण गरेका थिए भने कोषाध्यक्ष सुवास जिसीले करिब ६० हजार कतारी रियाल कारोबार गरेको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise