-देव गुरागाईं
नागरिक स्टक डिलर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७६ माघ २९ गते बुधबार स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीको अधिकृत पुँजी रु. १० अर्ब छ भने तत्काल जारी पुँजी रु. ५ अर्ब छ । त्यसैगरी कम्पनीले तत्काल चुक्ता गरेको पुँजी रु. ५ अर्ब छ, जसमा संस्थापक सेयरधनीहरूलाई ७० प्रतिशत सेयर स्वामित्व कायम गरिएको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनेछ । हाललाई संस्थापक सेयरधनीहरू नागरिक लगानी कोषको ५१ प्रतिशतले हुन आउने रकम रु. २ अर्ब ५५ करोड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको १० प्रतिशतले हुन आउने रकम रु. ५० करोड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ९ प्रतिशतले हुन आउने रकम रु. ४५ करोड गरी जम्मा रु. ३ अर्ब ५० करोड रुपैयाँले कम्पनीले आफ्नो कार्य अगाडि बढाउनेछ । चुक्ता पुँजीमा बाँकी रहेको ३० प्रतिशतले हुन आउने रु. १ अर्ब ५० करोड रकमबराबरको सेयर कम्पनी ऐन तथा धितोपत्र निष्कासनसम्बन्धी प्रचलित नियमको अधिनमा रही कम्पनीले पछि निष्कासन गर्नेछ, साथै कम्पनीले कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनको अधीनमा रही कम्पनीले आफ्नो पुँजी तथा स्वामित्वको संरचनामा हेरफेर गर्न सक्ने प्रावधान प्रबन्धपत्रमा गरेको छ ।
कम्पनीको काम, कर्तव्य र अधिकार
यस कम्पनीको उद्देश्यअनुसारका, काम, कर्तव्य र अधिकार देहायबमोजिम रहेको छ :
(क) स्टक डिलरको कार्य : यस कम्पनीले धितोपत्र ऐन तथा नियमावली र अन्य प्रचलित ऐन, कानुनअन्तर्गत रही धितोपत्र व्यवसायीका रूपमा स्टक डिलरको कार्य गर्छ । धितोपत्र व्यवसायीका रूपमा स्टक डिलरको कार्य भन्नाले जब धितोपत्र बजारमा अस्वाभाविक उतारचढाव आई बजार असन्तुलन, अस्थिर भई तरलताको अवस्थामा विचलनको स्थिति आउँछ । त्यस्तो अवस्थामा यो कम्पनीले नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरूको खरिद÷बिक्री गरी धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने मुख्य कार्य गर्छ, साथै तरलतालाई पटक–पटक दोहोरिनबाट पनि रोक्छ । बजार घेटेका बेला कम्पनीले बजारमा धितोपत्रहरूको खरिद गरी बजारमा धितोपत्रको माग बढाउँछ भने बजार बढेका बेला बजारमा धितोपत्रहरू बिक्री गरी बजारमा धितोपत्रको आपूर्ति बढाउँछ । फलतः बजार अस्वाभाविक रूपमा बढ्न र घट्नबाट नियन्त्रित हुन्छ ।
(ख) सेयर/बन्ड/डिबेन्चर/म्युचअल फन्डको एकाइ तथा डेरिभेटिभ्स उपकरणको कारोबार : यस कम्पनीले धितोपत्र बजारमा सूचीकृत संगठित संस्थाको सेयर÷बन्ड÷डिबेञ्चर, डेरिभेटिभ्स उपकरण, सामूहिक लगानी कोषका एकाइ वा अन्य धितोपत्र खरिद बिक्रीको कार्य गर्छ । कम्पनीले नियामक निकायको अनुमति लिई डेरिभेटिभ्स उपकरणहरूकोे समेत कारोबार गर्नेसम्मको अधिकार प्रबन्धपत्रमा व्यवस्था गरेकोछ । डिरिभेटिभ्स उपकरण भन्नाले पुँजीबजारमा हुने फ्युचर, अप्सन, फर्वाड र स्वापजस्ता उपकरणहरू सञ्चालन तथा तिनीहरूको कारोबार गर्ने भन्ने बुझिन्छ । यस कम्पनीले डिरिभेटिभ्स बजार सञ्चालन गर्न नियामक निकायले अनुमति प्रदान गरेको खण्डमा त्यस्ता उपकरणहरूको समेत कारोबार गर्ने अधिकार आफ्नो प्रवन्धपत्रमा सुनिस्चित गरेको छ, जुन कुराले पुँजीबजारको दिगो विकासका लागि निकै महत्वपूर्ण योगदान दिन्छ भने अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आइसकेका यस्ता उपकरणहरूको प्रयोगले नेपालको पुँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको बजार बनाउन समेत मद्दत पुग्छ ।
(ग) सार्वजनिक निष्कासन तथा लिलामी प्रक्रियामा सामेल : यस कम्पनले धितोपत्रको सार्वजनिक निष्कासन तथा लिलामी प्रक्रियाबाट विभिन्न धितोपत्रको खरिद गर्छ । विभिन्न कम्पनीले जारी गरेको आईपीओ, एफपीओ तथा लिलामी प्रक्रियामार्फत बिक्री गर्न खारिएका धितोपत्रहरू खरिद गर्न सक्ने अधिकार यो कम्पनीलाई छ ।
(घ) संस्थागत लगानीकर्ता : यस कम्पनीले धितोपत्रको प्रारम्भिक तथा थप सार्वजनिक निष्कासनमा योग्य संस्थागत खरिदकर्ता वा लगानीकर्ता भई कार्य गर्छ । विभिन्न कम्पनीले जारी गरेको आईपीओ, एफपीओमा संस्थागत लगानीकर्ताका रूपमा धितोपत्रहरू खरिद गर्ने अधिकार यो कम्पनीलाई रहेको छ ।
(ङ) धितोपत्रको सापटी लिने दिने : प्रचलित ऐन–कानुनको अधीनमा रही सम्बन्धित निकायको स्वीकृति लिई यस कम्पनीले धितोपत्रहरूको सापटी लिने दिने कार्य गर्छ । यस्तो कार्य नेपालको धितोपत्र बजारमा नितान्त नयाँ कार्य हो । यो कार्यअन्तर्गत कम्पनीले आफुसँग भएका धितोपत्रहरू जुन लामो समयका लागि लगानी गरिएका हुन्छन् त्यस्ता धितोपत्रहरू लगानीकर्ताहरूलाई सापटीका रूपमा प्रदान गर्छ तथा कम्पनीलाई आवश्यक परेको खण्डमा अरूसँग भएको धितोपत्रहरू सापटी लिन सक्ने अधिकारसमेत रहेको छ । लगानीकर्ताहरूले कहिलेकाहीं भूलवश बिक्री भएको धितोपत्र कारोबार समयमा राफसाफ गर्न नसकेर २० प्रतिशत हर्जना तिर्नुपर्ने हुन्छ । त्यस्तो बेला यस कम्पनीबाट धितोपत्र सापटी लिएर समयभित्र कारोबार राफसाफ गरेमा ठूलो रकम हर्जना तिर्नबाट जोगिन्छ । कम्पनीलाई धितोपत्र सापटी उपलब्ध गराएबापत सेवा शुल्क, कमिसन, ब्याजजस्ता रकम आर्जन हुन्छ । साथै घट्दो बजारमा कुनै कम्पनीको मूल्य निकट भविष्यमा घट्छ भन्ने लागेमा जोखिम बहन गर्न सक्ने क्षमता भएका लगानीकर्ताले त्यस्तो धितोपत्र आजै सापटी लिएर आजको मूल्यमा बिक्री गरी पछि घटेको मूल्यमा खरिद गरी सापटी सेयर तिर्न पाउने भएमा लगानीकर्ताहरूले बजारबाट प्राप्त हुने अवसरको फाइदा समेत उठाउन सक्छन् ।
(च) परामर्श सेवा : यस कम्पनीले विभिन्न व्यक्ति वा संस्थाका लागि लगानी परामर्श सेवा प्रदान गर्छ । यस कार्यअन्तर्गत कम्पनीले पुँजीबजारको क्षेत्रमा जो–कोहीलाई आवश्यक परेको विषयवस्तुमा आवश्यकीय परामर्श सेवा उपलब्ध गराउन सक्छ । सो सेवा उपलब्ध गराएबापत कम्पनीले सेवा शुल्क रकम आर्जन गर्छ । प्रचलित कानुनको अधीनमा रही लगानी प्रबन्धका लागि प्राविधिक र विशेषज्ञ ज्ञान तथा सीप उपलब्ध गराउँछ, सोका लागि देशभित्र तथा बाहिरका व्यक्ति तथा कम्पनीहरूसँग सम्झौतासमेत गर्छ ।
(छ) धितोपत्र दलाल व्यवसायी : यस कम्पनीले संस्थापक संस्थाहरू र आफ्नो प्रयोजनका लागि धितोपत्र दलाल व्यवसायी भई धितोपत्र एवं ऋणपत्रको कारोबार गर्दछ । हाल बजारमा रहेका धितोपत्र दलालहरूले गर्ने सबै किसिमका कार्य गर्न यस कम्पनी अधिकार प्राप्त छ । तर, आफू र आफ्ना संस्थापक संस्थाहरू नागरिक लगानी कोष, नेपाल पुनर्बिमा कम्पनी लि. र नेपाल टेलिकम कम्पनी बाहेक अन्यका लागि धितोपत्रको कारोबार भने गर्न पाउँदैन । यसरी कारोबार गर्न कम्पनीले आफ्नो छुट्टै विन्डोज लग–इन प्रयोग गरी धितोपत्रको खरिद वा बिक्री आफंैले गर्नेछ ।
(ज) बास्केट फन्ड : यस कम्पनीले विभिन्न संगठित संस्था र अन्य कोषहरूलाई समेत समाबेश गरी छुट्टै बास्केट फन्ड खडा गरी सञ्चालन गर्न सक्छ । यस कार्यअन्तगत कम्पनीले आफूसँग भएको रकम अभाव भएमा वा थप कारोबार बढाउन थप रकम आवश्यक भएमा विभिन्न संगठित संस्थाहरूलाई समेटी एक छुट्टै कोष खडा गरी अफ्नो कारोवार बिस्तार गर्न सक्नेछ । यस्तो बास्केट फन्ड संचालन तथा उपयोगसम्बन्धी भने छुट्टै नियमको आवश्यकता पर्छ ।
हाल धितोपत्र बजारमा दैनिक झन्डै २ अर्ब रुपैयाँमाथिको कारोबार भइरहेको छ । बजारलाई नियन्त्रण तथा सन्तुलनमा राख्न स्थापित नागरिक स्टक डिलर कम्पनीको तत्काललाई उपयोग गर्न मिल्ने पुँजी रकम जम्मा ३ अर्ब ५० करोड छ, जसबाट कम्पनी स्थापना गर्न आवश्वक पर्ने भौतिक संरचना, मानव संसाधन र कानुनी संरचना तयार गर्न आवश्यक खर्च रकम छुुट्याउनुपर्ने हुन्छ, साथै नगद प्रवाहलाई समेत ध्यानमा राखी केही रकम छुट्याइसकेपछि बाँकी रहेको लगानीयोग्य रकमले मात्र धितोपत्रहरूको खरिद वा बिक्री गर्नुपर्ने हुन्छ । बढ्दो बजारमा त कम्पनीले आज खरिद गरेको धितोपत्र निश्चित रकम नाफा आर्जन गरेपछि अर्को दिन बिक्री गरी रकम आर्जन गर्न सक्छ, तर घट्दो बजारमा धितोपत्रहरूको ठूलो मात्रामा खरिद गर्दै जाँदा दिनदिनै धितोपत्रको मूल्य घट्ने हुँदा आज खरिद गरिएको धितोपत्रको मूल्य अर्को दिन अझ घट्छ । यो बेला धितोपत्रहरू होल्ड गर्नुपर्ने हुन्छ । यस्तो बेला बिक्री ग¥यो भने घाटा बेहोर्नुपर्ने हुन्छ । त्यसैले धितोपत्रहरूको खरिद मात्र गर्न रकम अपुग भई कम्पनीलाई लगानीयोग्य रकमको अभाव (तरलताको समस्या) समेत पर्न सक्ने जोखिम छ । त्यसैले कम्पनीले यस्तो जोखिम न्यूनीकरण गर्न बेलैमा बास्केट फन्डसम्बन्धी कार्यलाई सँगसँगै अगाडि बढाउनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies