२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रमै विभेद, व्यक्तिगत सहयोगी नहुँदा समस्या

ADV
मध्यान्ह
२०८१ पुष ८ गते १३:१०
अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रमै विभेद, व्यक्तिगत सहयोगी नहुँदा समस्या

काठमाडौंः प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि संविधानमा स्पष्ट व्यवस्था रहेकाले सोही अनुसार कानुन र ऐनहरू बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिलाउनुपर्नेमा जोड दिए । सोमबार प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिका सदस्य र सरोकारवालाहरूसँगको अन्तरक्रियामा उनले अन्तर्राष्ट्रिय सन्धि र सम्झौता नेपालले कार्यान्वयन नगरेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचय पत्र वर्गीकरणमै विभेद रहेको औंल्याए । 

उनले भने,‘अपाङ्गता भएका व्यक्तिहरूका लागि वितरण गरिने कार्डमा नै विभेद छ । देशभर चुनौति छ । यसका लागि अलग्गै कार्यविधी तयार गरेर सबै तहका सरकारले यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले अगाडि भने,‘अपाङ्गकता भएका व्यक्तिहरूका लागि सहयोग जरुरी छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डलाई हेरेर नीति निर्माण बनाउन हामी तयार छौं ।’

त्यस्तै सांसद सुशिला सिर्पालीले थन्किएका कार्यविधीमाथि पहिले छलफल गर्नुपर्ने भन्दै बजेट विनियोजनमा कानुनले दिंदैन भन्ने मानसिकता त्याग्नुपर्ने बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि वितरणमा समानता नभएकाले यसका लागि अलग्गै कार्यविधी आवश्यक भएको बताइन् । 

सांसद विन्धवासिनी कंसकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सम्बन्धित संघसंस्थाहरू जिम्मेवार नभएको बताइन् । ‘सम्बन्धित व्यक्तिहरूको अधिकारका लागि सम्बन्धित संघसंस्थाहरू जिम्मेवार हुनुपर्छ । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्षको भूमिका नै प्रभावकारी छैन । यसमा विशेष छलफल हुनु जरुरी छ ।’

अर्की सांसद कल्पना मियाँले कानुन कार्यान्वयन गर्न कर्मचारीहरूबाटै समस्या हुने भएकाले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आवश्यक छलफल गर्न महिला तथा सामाजिक मामिला समितिले विशेष भूमिका खेल्ने बताइन । राष्ट्रिय सभाका पूर्वसदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आफूले धेरै पहल गरेको उल्लेख गर्दै अब सामूहिक भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

अधिवक्ता मुकुन्द दाहालले कानुन बनेपनि बजेटका कारण धेरै काम अड्किएको जानकारी दिंदै सम्बन्धित मन्त्रालयका सचिवहरूसँग अलग्गै छलफल हुनुपर्नेमा जोड दिए । अभियन्ता दिपक भण्डारीले भएका सम्झौताहरू कार्यान्वयनमा सरकार सँधै बाधक भएको आरोप लगाए । डिसाविलिटी राइट्स फन्टको सहयोगमा मेरुदण्ड पक्षघात समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्दति केन्द्र काठमाडौंले आयोजना गरेको कार्यक्रममा अभियन्ता सिर्जना केसीले अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी निर्देशिका अनिवार्य भएको बताइन् ।

त्यस्तै अभियन्ता लाक्पा नोरु शेर्पाले अपाङ्गता भएका व्यक्तिहरू आफ्नो अधिकारका लागि सडकमै आउनु दुखद भएको बताउँदै नीति नियम मात्र नभइ त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सोमबार तीन वटा संस्थाको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामूदायिक सहायता सम्बन्धमा सरोकारवाला र प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूबीच छलफल भएको हो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise