काठमाडौं : २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका ठाउँमध्ये एक हो
सानीभेरी गाउँपालिकाको वडा नं. ४ । उक्त स्थानलाई लक्षित गर्दै भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) जिल्ला शाखाले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) र विभिन्न साझेदार राष्ट्रिय सोसाइटीहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०२४ मे देखि वडा नं. ४ लाई कार्यक्षेत्र बनाएर कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सरोज थापाले परियोजना अन्तर्गत आवास, खानेपानी, सरसफाइ तथा स्वच्छता÷स्वास्थ्य, जीविकोपार्जन, संरक्षण लैंगिक तथा समावेशीकरण र सामुदायिक संलग्नता, जवाफदेहिताका साथै विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम भइरहेको बताए ।
उनका अनुसार अस्थायी आवास स्तरोन्नतिको लागि ६० घरधुरीलाई १५ हजार रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराइएको छ । यस्तै समुदायमा सुरक्षित आवास निर्माण सम्बन्धी सहभागितामूलक अवधारणाको कार्यान्वयन गरिएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता/स्वास्थ्यमा नयाँ शौंचालय निर्माण र स्तरोन्नतिको लागि ५५ घरधुरीलाई १५ हजार रुपैयाँका दरले नगद सहयोग उपलव्ध गराइएको छ । श्री राष्ट्रिय आधारभूत विद्यालय चाख्लेमेलामा खानेपानी र हात धुने धाराको निर्माण कार्य भइरहेको छ भने सामुदायिक स्वास्थ्य इकाई चाख्लेमेला खानेपानीको व्यवस्थापन भइरहेको छ । गरायला स्वास्थ्य चौकीमा हात धुने धाराको निर्माण कार्य सम्पन्न गरिएको संयोजक थापाले बताए ।
मुरेखोला तल्लाकाँडा इजर खानेपानी आयोजनाको निर्माण कार्य भइरहेको छ भने खानेपानी उपभोक्ता समिति तथा खानेपानी सुरक्षा योजना टोलीका प्रतिनिधिहरुलाई निर्माण पूर्व व्यवस्थापन तालिम र खानेपानीको गुणस्तर जाँच सम्बन्धी तालिम सम्पन्न गरिएको छ । १ स्वास्थ्य चौकी र १ सामुदायिक स्वास्थ्य इकाईलाई आवश्यकतानुसारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संयोजक थापाले बताए ।
सानीभेरी माध्यमिक विद्यालय बलिबाङ्गका २४ जना विद्यार्थी र १ जना जुरेसको शिक्षक नायकलाई २ दिने प्राथमिक उपचार तालिम प्रदान गर्नुको साथै प्रत्येक सहभागीहरु र विद्यालयलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको छ ।
यस्तै वडामा रहेका ५ वटा स्वास्थ्य आमा समूहहरुलाई २ थानका दरले स्ट्रेचर हस्तान्तरण गरिएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, विद्यालय शिक्षक र आमा समूहका २४ जना प्रतिनिधिहरुलाई महामारी नियन्त्रण तालिम सम्पन्न गरिएको छ ।
समुदाय, विद्यालय तथा स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिएको छ ।
जीवकोपार्जन सशर्त नगद अनुदान सहयोग अन्तर्गत वडाका १ सय ३३ घरधुरीलाई व्यवसायिक योजना बमोजिमको काम सञ्चालन गर्नका लागि प्रति घरधुरी ५० हजार रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराइएको छ ।
जीवकोपार्जन सशर्त नगद अनुदान सहयोग प्राप्त गर्ने घरधुरीहरुको लागि वित्तीय साक्षरता र व्यवसायिक योजना निर्माण साथै पशुपालन तालिम सम्पन्न गरिएको छ । कामको लागि नगद कार्यक्रम अन्तर्गत मुरेखोला बलिबाङ्ग ढिंक सिँचाइ आयोजनाको काम अन्तिम चरणमा रहेको छ ।
समुदाय तथा विद्यालयमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम, विपद् पूर्वतयारी र पूर्व सूचना प्रणाली सम्बन्धी जनचेतनामूलक सेसन सञ्चालन गरिएको छ ।
वडाका ७ जना अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकतानुसारको सहायता सामग्री प्रदान गरिएको छ ।
विद्यालयमा बालमैत्री स्थान व्यवस्थापनको लागि ३ वटा विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण, सानीभेरी माध्यमिक विद्यालय बलिबाङ्ग र राष्ट्रिय आधारभूत विद्यालय चाख्लेमेलाका ५ सय ३० जना विद्यार्थीहरुलाई विद्यालय किट हस्तान्तरण गरिएको संयोजक थापाले बताए ।
वडा विपद् व्यवस्थापन समितलाई विपद् प्रतिकार्यका लागि २७ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनीकरण गर्न, जंगली जनावर र चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न र जलस्रोतको पुनर्भरण गर्न टुरा बस्तीमा बाधापानी रिचार्ज पोखरी निर्माण कार्य सम्पन्न भएको संयोजक थापाले बताए ।