२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

himalayanlife
२०८१ पुष ९ गते ११:४८
Shares
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

लुम्बिनी : मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञान विज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । “प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौँ”, उनले भने, “प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।”

कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताए ।

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए । देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्व बजारमा पुर्‍याउने, वार्षिक रु. १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ । 

सम्बन्धित खबर