कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा आधा दर्जन उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । संघमा पुस ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूमध्ये अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत विभिन्न पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
संघको निर्वाचन पुस १९ गते हुने तय भएको छ । उम्मेदवारी फिर्ता भए पनि बाँकी प्रस्पिर्धीहरूबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएका आठमध्ये विजय कनोडिया, शाकिर अहमद शाह, र अजित सिंहले उम्मेदवारी फिर्ता लिएपछि रामकुमार गुप्ता, गुरुशरण सिंह, शंकर प्रसाद शर्मा, श्रवण सुरेका र रितेश शर्मा प्रतिस्पर्धामा छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा विकास जयसवालले उम्मेदवारी फिर्ता लिएपछि नसरुल्लाह खाँ र दिनेश चन्द्र गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्ष पदमा रामगोपाल गोयलले उम्मेदवारी फिर्ता लिएपछि रवि शाह, रविन्द्र गुप्ता, र अस्लम खाँबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिव पदमा रामसेवक अहिर र हरिओम तुल्स्यानबीचको प्रतिस्पर्धाले मतदाताको ध्यान खिचेको छ । सचिव पदमा अरबिन्द अग्रवालले उम्मेदवारी फिर्ता गरेपछि विजय जयसवाल, शहबाज खाँ, ऋषभ अग्रवाल र चन्द्रशेखर बर्माबीच भिडन्त हुने भएको छ ।
महिला सदस्यतर्फ उर्मिला कुमारी चौधरी एकल उम्मेदवार रहेकोले उनी निर्विरोध हुने निश्चित भएको छ । कोषाध्यक्षमा प्रतीक अग्रवाल र मनोज जयसवालले उम्मेदवारी फिर्ता गरेपछि यो पदमा पनि निर्विरोध चयन हुने निश्चित भएको छ । संघले पुस १० गते मतपत्रको नमूना सार्वजनिक गरिने जनाएको छ । उम्मेदवारहरूले हाल प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।