काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरका सबै क्याम्पसमा एकै पटक गराउने तयारीमा जुटेको छ ।
मंगलबार रेक्टर खड्ग के. सी.को अध्यक्षतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले केन्द्रीय निर्वाचन समिति बनाउने र विद्यार्थी संगठनसँग छलफल गर्ने निचोड निकालेको बताइएको छ ।
१५ फागुनमा स्ववियु निर्वाचन गराउने त्रिवि क्यालेन्डरअनुसार निर्वाचन गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी थालेको बत(ाइएको छ ।
कार्यकारी परिषद् र सिनेटले पास गरेको विषय परिवर्तन गर्न नमिल्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गराउन छलफल सुरु गरिएको परिषद्ले जनाएको छ ।
स्ववियु निर्वाचन २/२ वर्षमा गर्ने प्रावधान छ । २ वर्षअघि भएको निर्वाचनमा ५० वटा आंगिक र ४०० बढी सम्बन्धनप्राप्त कलेजमा स्ववियु निर्वाचन भएको थियो ।
अखिल क्रान्तिकारीको निर्वाचन १३ र १७ गते
अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचन तालिका सार्वजपिनक भएको छ । सार्वजनिक तालिकाअनुसार निर्वाचन २ चरणमा हुने छ ।
अनेरास्ववियुले उम्मेदवारहरूको उमेरको हद तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।
१० पुसमा सुरु हुने पहिलो चरणको निर्वाचनमा मतदाता नामावली प्रकाशन गरिने छ भने ११ र १२ गते मतदाता नामावलीको दाबी विरोध प्रस्तुत गर्न सकिने छ । १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने जनाइएको छ ।
भूगोल र गैरभूगोल गरी ८६ जिल्लामै मतदान केन्द्र रहने अनेरास्ववियुले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि १५ पुसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारी मनोनय दर्ता हुने छ भने १७ पुस बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुने छ ।