दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएको प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएर महत्वपूर्ण सन्देश दिएका प्रधानमन्त्री ओली शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनुलाई अर्थपूर्ण रुपमा लिइनुको कारण भने यसअगाडि भीभीआईपीहरुले सधैं विदेशका महँगा अस्पतालमा उपचार गराउँदै आउनु हो । प्रधानमन्त्री ओलीले पनि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गराएका थिए । तर, दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भने शिक्षण अस्पतालमै गराए ।
६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले यसपटक स्वदेशमै प्रत्यारोपण गराउने जोखिम उठाएका थिए । सन् २००८ बाट प्रत्यारोपण शुरु भएपनि नेपालका चिकित्सक र उपकरणप्रति विश्वास बढ्न सकेको थिएन । त्यसैले भीभीआईपी देखि पहुँजवाला नेपाली नागरिकले समेत स्वदेशको स्वास्थ्य संस्था, चिकित्सक र उपकरण भन्दा विदेशकै महँगो तथा भरपर्दो अस्पताल जाने गरेका थिए । कार्यकारी प्रधानमन्त्रीले नै स्वदेशमा उपचार गराएपछि स्वदेशका स्वास्थ्य संस्था, चिकित्सक र उपकरणप्रति विश्वास बढेको छ ।
यसरी स्वदेशमै प्रत्यारोपणको जोखिम उठाउनुमा प्रधानमन्त्री ओलीको आत्मविश्वासले काम गरेको छ । तर, तिनै आत्मविश्वासको थप यात्राबारे भने धेरैले टिप्पणी गरेका छन् । हुन पनि शुक्रबार अस्पतालबाट प्रधानमन्त्री ओली डिस्चार्ज गर्दा प्रत्यारोपण गराएको १० दिन मात्रै भएको थियो । सामान्य मानिसजस्तै अवस्थामा आउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने प्रत्यारोपणमै संलग्न चिकित्सकहरुले बताएका छन् । तर, प्रधानमन्त्री ओलीले हतारमा अस्पतालबाट निस्किएका छन् । प्रधानमन्त्रीले हतार गर्नुमा भने आफै प्रत्यारोपण अगाडि दिएको अभिव्यक्तिले समेत दबाव सिर्जना गरेको हुनुपर्छ । किनभने, प्रधानमन्त्री ओलीले प्रत्यारोपण अगाडि नै पाँच दिन मात्रै अस्पताल बस्ने बताएका थिए ।
तर, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई पर्याप्त आरामको आवश्यकता रहेको बुझ्न कुनै कठिन हुन्न । आराम गर्न छोडेर हतारमा बालुवाटार फर्किएको टिप्पणी भइरहेकै बेला प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपाका नेताहरुसँग समेत भेटवार्ता शुरु गरिसकेका छन् । शुक्रबार नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरेका थिए । शनिबार पनि प्रधानमन्त्री ओलीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । तर अहिले भेटवार्ता र राजनीतिक सक्रियता भन्दा पनि प्रधानमन्त्री ओलीलाई आरामको आवश्यकता रहेको चिकित्सकहरुले नै बताइरहेका छन् । त्यसैले अहिले प्रधानमन्त्री ओलीले अरु धेरै कुरा नसुनी चिकित्सकको सल्लाह मान्न चाहिँ आवश्यकता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies