-नरेन्द्रमान श्रेष्ठ
मेरा एक जना मित्र सेयर लगानीकर्ता विष्णुहरि श्रेष्ठले केही वर्ष पहिले एउटा जलविद्युत् कम्पनीको प्राथमिक सेयर निष्कासन हुँदा प्राथमिक सेयर खरिदका लागि आवेदन गर्न घामपानी, भोकप्यास नभनी चार घण्टा लाइनमा बसेर आवेदन दिएको रु. १ सय पर्ने सेयरको अहिले दोस्रो बजारमा रु. ६० को हाराहारीमा कारोबार भइरहेको छ । पछिल्लो समयमा धेरैजसो हाइड्रोपावरहरूको सेयरको हालत यस्तै छ भन्दा पनि फरक नपर्ला । विगतमा रु. २५ सयभन्दा बढी पुगेको हाइड्रोपावरको सेयरको मूल्य अहिले रु. ३–४ सयमा पाइने गरेको छ । पछिल्लो समयमा हाइड्रोपावर कम्पनीको दोस्रो बजारका लगानीकर्ताहरूमात्र नभई प्राथमिक सेयरका लगानीकर्ताहरूसमेत विचल्लीमा छन् । पछिल्लो समयमा लगानीकर्ताहरूको आकर्षण हाइड्रोपावर कम्पनीहरूमा घट्दै गएको छ भन्दा पनि फरक नपर्ला ।
विगतमा हाइड्रोपावर कम्पनीका प्राथमिक सेयरहरू निष्कासन हुँदा घामपानी नभनी घण्टौं लाइनमा बसेर कतिपय अवस्थामा त बेलुकासम्म भए पनि लाइनमा बसेर आवेदन बुझाउने गरेको थिए । तर, पछिल्लो समयमा घर, कोठा, अफिस, पसल जहाँतहीं बसेर आवेदन दिन सक्ने भए पनि जलविद्युत् कम्पनीका प्राथमिक सेयरहरूमा समेत आवेदन दिन लगानीकर्ताहरू त्यति उत्साहित देखिएनन् भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा केही जलविद्युत् कम्पनीहरूले निष्कासन गरेका प्राथमिक सेयरहरू पनि सबै बिक्री भएनन् भने बिक्री नभएको सेयरको प्रत्याभूति लिने भनेका कम्पनीहरूले समेत सेयरको प्रत्याभूति लिन आनाकानी गरेको चर्चा सेयर बजारमा चलेको थियो । त्यसो त कतिपय लगानीकर्ताहरूको भनाइमा अहिलेको अवस्थामा जलविद्युत् कम्पनीहरूको सेयरमा लगानी गर्ने भनेको बालुवामा पानी हाल्ने जस्तै हो भनेर पनि भन्ने गरेका छन् । सरकारले समेत सरकारको पानी जनताको लगानी भन्ने नाराका साथ जलविद्युत् आयोजनाहरू अगाडि सारिररहेको समयमा लगानीकर्ताहरूको आकर्षण भने जलविद्युत् कम्पनीमा नरहेको जस्तो देखिएको छ ।
त्यसो त पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको सेयर दोस्रो बजारमा नै रु. १ सयभन्दा कम मूल्यमा पाइरहेका कारणले पनि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयरका लगानीकर्ताहरूको आकर्षण त्यति नरहेको हो भन्दा पनि फरक नपर्ला । एक त पछिल्लो समयमा जारी भएका हाइड्रोपावर कम्पनीका प्राथमिक सेयरहरू बिक्न छाडेका छन् भने दोस्रो बजारमा पनि हाइड्रोपावर कम्पनीको सेयरको मूल्यमा गिरावट आइरहेको छ । दोस्रो बजारमा नै हाइड्रोपावर कम्पनीहरूको सेयर आधार मूल्य फेस भ्यालुभन्दा घटेको देखिन्छ ।
दोस्रो बजारमा कतिपय हाइड्रोपावर कम्पनीको सेयर रु. १ सयभन्दा तल छ । यस कारणले पनि हाइड्रोपावर कम्पनीका सेयरधनीहरू चुर्लुम्म डुबेका छन् भन्दा फरक नपर्ला । पछिल्लो समयमा हाइड्रोपावर कम्पनीका सेयरधनीहरू पीडित हुन पुगेका छन् । नेप्सेमा ३३ वटा हाइड्रोपावर कम्पनी सूचीकृत भएका छन्, जसमध्ये १ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य रु. १ सयभन्दा मुनि छ । यसले पनि अनुमान लगाउन सकिन्छ, हाइड्रोपावर कम्पनीका प्राथमिक सेयरका लगानीकर्ताहरूसमेत नोक्सानीमा रहेका छन् । त्यसो त कतिपय हाइड्रोपावर कम्पनीहरू निर्माणाधीन अवस्थामै रहेका छन् भने कतिपय कम्पनीहरू घाटामा गइरहेका छन् । यी विभिन्न कारणले कतिपय हाइड्रोपावर कम्पनीले लगानीकर्ताहरूलाई लाभांशसमेत दिन सकिरहेका छैनन् भने कतिपय कम्पनीले वार्षिक साधारणसभासमेत गर्न सकिरहेका छैनन् । लाभांश घोषण गरेका कतिपय कम्पनीको लाभांश न्यून मात्र रहेको छ । यस कारणले पनि हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले आत्तिएर घाटा खाएर भए पनि कम मूल्यमा सेयरहरू बिक्री गरिरहेका हुन् कि ? हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले आत्तिएर आधार मूल्यभन्दा कममा सेयर बिक्री गर्नुभन्दा सक्नेले होल्डमा बस्नु राम्रो हुनेछ, हाइड्रोपावर कम्पनीहरूको पनि त दिन आउला नि !
कतिपय हाइड्रोपावर कम्पनीले लाभांशको घोषणा गरिसकेका छन् भने कतिपयले गर्न सकिरहेका छैनन् । यस कारणले पनि हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्यमा सुधार हुन नसकेको कतिपय सरोकारवालाहरूको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ को लाभांश दिने कम्पनीहरूमा बुटवल पावर कम्पनीले २८ प्रतिशत, चिलिमे हाइड्रोपावरले २५ प्रतिशत, सानिमा माई हाइड्रोपावरले १० प्रतिशत प्रतिफल दिएका छन् भने ङाडी ग्रुप पावरले १० प्रतिशत लाभांश दिने भएको छ । अरू केही हाइड्रोपावर कम्पनीहरूले ३ देखि ७ प्रतिशतको हाराहारीमा लाभांश दिएका छन् भने कतिपय हाइड्रोपावर कम्पनीहरू नोक्सानीमा नै रहेका पनि छन् । त्यसो त हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले प्रतिफल केही वर्ष ढिलो पाउने गरेका पनि छन्, जसका कारण हाइड्रोपावर कम्पनीका सेयरधनीहरू दोहोरो मारमा पर्ने गरेका छन् ।
एकातिर दोस्रो बजारमा सेयरको भाउ घट्ने गरेको छ भने अर्कातिर कम्पनीबाट लाभांशसमेत पाउन सकिरहेका छैनन् । त्यसो त पछिल्लो समयमा सेयर बजारमा हाइड्रोपावर कम्पनी समूहको मात्र नभई अरू समूहहरूको पनि दोस्रो बजारमा सेयरको मूल्य राम्रो नभइरहेको अवस्था भने रहेको छ । त्यसो त हाइड्रोपावर कम्पनीहरूको नियमन गर्ने निकाय नभएका कारण पनि कतिपय कम्पनीले चलखेल पनि गर्ने गरेको बताउँछन् सरोकारवालाहरू । त्यसो त केही हाइड्रोपावर कम्पनीले हकप्रद सेयर एफपीओ जारी गर्ने भनेर सेयर बजारमा चलखेल गर्ने गरेको पनि देखिन्छ । तर, हकप्रद सेयर एफपीओ जारी गर्ने भनेर घोषणा गरेका हाइड्रोपावर कम्पनीहरूले जारी गर्न सकिरहेका छैनन् ।
त्यसो त सेयर बजारमा र हाइड्रोपावर कम्पनीहरूमा केही हाइड्रोपावरका माफियाहरूको कारण पनि लगानीकर्ताहरूले नोक्सानु ब्यहोर्नुपरिरहेको चर्चा पनि नचलेको भने होइन । त्यसो त कतिपय लगानीकताले हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ घटिरहेको छ भनेर आत्तिएर घटेको भाउमा सेयर बिक्री गर्ने गरेका कारण पनि कतिपय लगानीकर्ताले नोक्सानी ब्यहोर्नु परिरहेको छ । यसकारणले पनि हाइड्रोपावर कम्पनीको सेयर उकालो लाग्न नसकेको भनाइ पनि रहेको छ सरोकारवालाहरूको । यसमा सेयरधनी लगानीकर्ताहरू नै सचेत हुनुपर्ने देखिन्छ ।
विभिन्न कम्पनीमा लगानी गर्ने गरेका लगानीकर्ताहरूले आफूले लगानी गरेको कम्पनीबाट राम्रो प्रतिफल पाउने आस गरेका हुन्छन् । त्यसो त जलविद्युत् कम्पनीका प्राथमिक सेयरका लगानीकर्ताहरूले बैंक तथा वित्त कम्पनी, फाइनान्स कम्पनीहरूको जस्तो तत्काल प्रतिफलहरू नपाउन पनि सक्ने हुन्छन् । जलविद्युत् कम्पनीका प्राथमिक सेयरका लगानीकर्ताहरूले अल्पकालका लागि मात्र नभई दीर्घकालीन सोचका साथ लगानी गर्नुपर्ने हुन्छ ।
जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले प्रतिफल पाउनका लागि केही समय पर्खनुपर्ने हुन्छ । पछिल्लो समयमा धेरैजसो जलविद्युत् कम्पनीहरूको दोस्रो बजारमा सेयर मूल्यमा गिरावट आएको र प्राथमिक सेयरहरूमा पनि लगानीकर्ताहरू त्यति उत्साहित नभइरहेको अवस्था रहेकाले प्राथमिक सेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीहरूले प्राथमिक सेयर निष्कासन गर्न सकिरहेका छैनन् । कतिपय लगानीकर्ताको भनाइमा दोस्रो बजारमा नै जलविद्युत् कम्पनीहरूको सेयर रु. ६०–७० मा पाउने भइरहेका छन् भने किन रु. १ सय तिरेर प्राथमिक सेयर खरिद गर्ने भनेर पनि भन्ने गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies