२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

उदयपुरमा त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

ADV
बिन्द्र राई
२०८१ पुष ११ गते २०:१९
उदयपुरमा त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

उदयपुर : उदयपुरमा तेस्रो त्रियुगा अन्तर माध्यामिक विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता माध्यामिक विद्यालय देउरीको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगिता नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । नगर क्षेत्रका संस्थागत र सामुदायिक गरी ३७ विद्यालय सहभागी रहने प्रतियोगितामा भलिबल (महिला, पुरुष), कबड्डी (महिला, पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरी ५ विधाका खेलहरू समावेश गरिएका छन् ।

विद्यार्थीलाई पढाइमा मात्र सीमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्रि डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराएको र हरेक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगितामार्फत विद्यार्थीलाई पुरस्कृत गर्दै लैजाने योजनाअनुसार प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताए ।

प्रमुख बस्नेतले नगरपालिकाले शिक्षा क्षेत्रको सुधार, विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्न तथा स्थानीय समाज, ज्ञान, सीपलाई समेटेर स्थानीय कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यपुस्तक तयार गरेर अनिवार्य पठनपाठन गराइएको जानकारी दिए ।

उपप्रमुख महेश्वरी राईले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा खेलकुदले आत्मनिर्भरता, स्वावलम्बन र अनुशासनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागी विद्यालयलाई भावी दिनमा उत्कृष्ट प्रदर्शन गर्न तथा मनोरन्जन र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताइन् । 

नगरपालिकाले वर्षेनी आयोजना गर्ने मेयर रनिङ शिल्ड प्रतियोगिता र अन्य कार्यक्रम फरक मितिमा राखेता पनि सम्पन्न भइसकेका कारण ती कार्यक्रमको समेत अंक जोडेर प्रतियोगिताको विजयी चुनिने गरिन्छ । यस अगाडिको दोस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगितामा ३ सय १५ अंक प्राप्त गर्दै त्रियुगा नमुना मा.वि. प्रथम भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका १६ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र विभिन्न विद्यालयबाट आएका क्षिक्षक, विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise