
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले ३३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए । नान्गेलिया खान १७ रनमा अविजित रहे ।
नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट झारे ।