काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पुस ८ गते शुक्रबार गर्ने तयारी भएको २९ औं साधारण सभा र निर्वाचन अन्किम समयमा आएर स्थगित भएको छ । संघले पुस ८ गते नै साधारण सभा र निर्वाचन गर्ने तयारी गरेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल लगायतले संघको निर्वाचनमा आम व्यवसायीको उचित प्रतिनिधित्व हुन नसकेको भन्दै केही समयका लागि संघको साधारण सभा र निर्वाचन सार्नुपर्ने माग गरेका थिए ।
त्यसका बाबजुद संघको निर्वाचन समितिले सोमबारदेखि निर्वाचन कार्यक्रम प्रकाशित गरी पुस ८ गते नै निर्वाचन गर्ने तयारी गरेको थियो । तर मंगलबार दिउँसो संघले अर्को सूचना नभएसम्म निर्वाचनका कार्यक्रम स्थगित गर्न पत्र पठाएपछि सबै प्रक्रिया रोकिएको निर्वाचन समितिका संयोजक ऋषि शर्माले बताए ।
संघले निर्वाचन समितिलाई पठाएको पत्रमा संघमा ८७६ सदस्य संस्था रहेकोमा साधारण सभा र निर्वाचनमा भाग लिन मंसिर मसान्तसम्म ३८९ सदस्य संस्थाले मात्रै प्रतिनिधि चयन गरी पठाएको र उक्त संख्या संघ सदस्य संख्याको तुलनामा निकै कम भई संघको साधारण सभा बस्न ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने संघको विधानको दफा १६ (क) को व्यवस्था पालना हुनसक्ने अवस्था नभएकोले साधारण सभा रोक्नुपरेको उल्लेख गरेको छ ।
संघका सहसंयोजक प्रेम कटुवालले संघलाई छाता संस्था मान्ने राजनीतिक दल निकट संघ संस्थाबाट सम्भव भएसम्मका सदस्यहरुलाई समावेश गरी साधारण सभाबाट संघको आगामी नेतृत्व छनोट गर्नुपर्ने लिखित तथा मौखिक सुझाव दिएको भन्दै त्यसलाई पनि ध्यान दिई पुस ८ गतेका लागि तोकिएको साधारणसभा स्थगित गरिएको मध्यान्हलाई बताए ।
संघले साधारण सभा र निर्वाचनको नयाँ मितिका विषयमा राजनीतिक दल निकट संघसंस्था, जातीय तथा भेगीय संस्थाका प्रतिनिधिहरुसंग पुनः छलफल गरी तोकिने र त्यसका लागि बिहीबार सर्वपक्षीय बैठक बस्ने तयारी भएको पनि सहसंयोजक कटुवालले बताए ।
यसअघि संघको साधारण सभा र निर्वाचन पटक–पटक रोकिएको छ । यसअघि नेकपा एमालेको पार्टी जिल्ला अधिवेशन, नेपाली कांग्रेसको १४ औं महाधिवेशन र राजधानी लगायत केही जिल्लामा कोरोना भाइरसको ओमिक्रोन नामको नयाँ भेरियन्ट फैलिएर प्रशासनले भेला सभा गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी भएका कारणले पनि संघको साधारणसभा रोकिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies