२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

आइसिसीको नयाँ नियम : ब्याटरले समय खेर फाले ५ रन पेनाल्टी, डे टेस्टमा ‘पिंक बल’

Nada
२०८३ असोज १५ गते १९:५५
Shares
आइसिसीको नयाँ नियम : ब्याटरले समय खेर फाले ५ रन पेनाल्टी, डे टेस्टमा ‘पिंक बल’

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्रिकेटका सबै ढाँचाहरू (टेस्ट, एकदिवसीय र टी-२०) का लागि नयाँ खेल नियम सार्वजनिक गर्दै व्यापक हेरफेर गरेको छ । यी नयाँ नियमहरू अक्टोबर १ वा सोभन्दा पछि सुरु हुने सबै अन्तर्राष्ट्रिय शृंखलाहरूमा लागू हुनेछन् भने हाल जारी रहेका शृंखलाहरू पुराना नियमअनुसार नै सञ्चालन हुने आइसिसीले जनाएको छ ।

ncell

आइसिसी पुरुष क्रिकेट समितिका अध्यक्ष सौरव गांगुलीका अनुसार खेलको गति बढाउन, क्रिकेट बलको मापदण्ड तोक्न र फिल्डिङका केही अन्योलता हटाउन यी परिवर्तनहरू गरिएका हुन् । नयाँ नियमहरू एमसिसी क्रिकेट नियमहरूसँग समायोजन गरी आइसिसीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

यदि ब्याटर तोकिएको समयभित्र बल सामना गर्न तयार भएन भने पहिलो पटक चेतावनी, दोस्रो पटक अन्तिम चेतावनी र तेस्रो तथा त्यसपछिका प्रत्येक पटकमा फिल्डिङ टोलीलाई ५ पेनाल्टी रन प्रदान गरिनेछ । पटक–पटक यस्तो गल्ती दोहो¥याएमा आचारसंहिताअनुसार थप कारबाही पनि हुनसक्छ ।

महिला क्रिकेट बलको आकार र तौलमा नयाँ मापदण्ड लागू गरिएको छ । यसअघि महिला र जुनियर क्रिकेटका लागि उत्पादकहरूले प्रायः एउटै प्रकारको बल बनाउने गर्दथे । अब भने पुरुष, महिला र जुनियर क्रिकेटका लागि आकार र तौलका तीन फरक तथा स्पष्ट मापदण्डहरू निर्धारण गरिएका छन् ।

ओभरथ्रो सम्बन्धी अन्योलता हटाइएको छ । रन रोक्न वा रनआउट गर्ने उद्देश्यले बललाई स्टम्पतर्फ प्रहार गर्दा हुने कार्यलाई मात्र ओभरथ्रो मानिनेछ । बल रोक्ने प्रयास गर्दा वा अर्को फिल्डरलाई पास दिँदा मिसफिल्ड भएमा त्यसलाई ओभरथ्रो मानिने छैन ।

अम्पायरलाई बल पूर्ण रूपमा ‘सेटल्ड’ भएको निर्णय गर्न थप अधिकार दिइएको छ, जुन प्रतिस्पर्धात्मक खेलको अन्तिम बलमा निकै महत्वपूर्ण हुन्छ । अब बल ‘सेटल्ड’ मानिन बलर वा विकेटकिपरको हातमा नै पुग्नु अनिवार्य हुने छैन ।

रनआउट वा स्टम्पिङ गर्दा फिल्डरले बलमाथि पूर्ण नियन्त्रण राखेको हुनुपर्नेछ । स्टम्प ढाल्ने क्रममा हातले बललाई मात्र छोएको अवस्थालाई बल नियन्त्रणमा लिएको मानिने छैन ।

दिउँसोको टेस्टमा ‘पिंक बल’को प्रयोग गर्न सकिने आइसिसीको नयाँ नियममा उल्लेख छ । खराब प्रकाशका कारण खेल रोकिने समस्या कम गर्न आपसी सहमतिमा दिउँसो खेलिने टेस्ट म्याचमा पनि पिंक बल प्रयोग गर्न सकिनेछ । यद्यपि, खेल सुरु हुनुअघि नै दुवै टोलीले सहमति जनाउनुपर्नेछ र खेल सुरु भइसकेपछि रातोबाट पिंक बलमा फेरबदल गर्न पाइने छैन ।

दिनको अन्तिम ओभरमा विकेट ढलेमा र ओभर पूरा हुन बाँकी रहेमा, मौसम तथा स्थिति अनुकूल भएसम्म खेल स्वतः समाप्त हुने छैन । बाँकी रहेका बलहरू सोही दिन बलिङ गराइनेछ । यसले फिल्डिङ टोलीलाई फाइदा पुग्ने र खेलको रोमाञ्चकता कायम रहने विश्वास गरिएको छ ।

टी–२० क्रिकेटमा अब इनिङ्स ब्रेक १५ मिनेटको निश्चित गरिएको छ । समय कम भएको अवस्थामा यसलाई घटाएर कम्तीमा १० मिनेटसम्म ल्याउन सकिने आइसिसीले जनाएको छ ।
एकदिवसीय र टी–२० दुवै ढाँचामा ड्रिंक्स ब्रेकको समयमा मुख्य प्रशिक्षक वा उनीहरूका प्रतिनिधि मैदानमा प्रवेश गर्न पाउने नियम बनाइएको छ ।

यसअघि परीक्षणका रूपमा ल्याइएको वाइड बलसम्बन्धी नयाँ नियम अब एकदिवसीय र टी–२० मा स्थायी रूपमा लागू गरिएको छ । बलरले बल फाल्नुअघि वा फाल्ने क्रममा ब्याटरले स्थान परिवर्तन गरेमा ब्याटरको खुट्टाको स्थितिलाई आधार मानेर वाइडको निर्णय लिइनेछ ।

यी नयाँ नियमहरू अक्टोबर १ देखि सुरु भएको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप शृंखलाबाट लागू भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर