काठमाडौं : एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सम्पन्न भएको छ । पुस ५ र ६ गते काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको दि लास्ट रिसोर्टसम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गर्दै उक्त राइड सम्पन्न भएको हो ।
कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मन पराउनेहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी दिइएको एओजीले जनाएको छ ।
कार्यक्रममार्फत् आयोजकले सहभागीहरूलाई रोमाञ्चक यात्राको अनुभवका साथै सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए । ‘राइड फर चेन्ज’ पहलअन्तर्गत समूहले भीमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भीमसेन मावि एक दुर्गम विद्यालय हो । यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरू वितरण गरेको आयोजकले बताएको छ ।
यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ । यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलो पटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । रोमाञ्चक साहसिक गतिविधि र सीएसआर योगदानहरूको मिश्रणले सो यात्रा अविस्मरणीय र प्रभावकारी भएको कम्पनीले जनाएको छ ।