विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खरिद ऐन र कानुनी प्रक्रिया झन्झटिलो भएकाले कतिपय विकास निर्माणको कामलाई गति दिन नसकिएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताले फास्ट ट्रयाकबाट काम चाहेको तर खरिद ऐन र कानुनलाई सच्याउन नसक्दा समस्या भएको बताए ।
कतिपय कानुनहरु झन्झटिला रहेको चर्चा गर्दै उनले ऐन, कानुन र प्रक्रियालाई सजिलो बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । समाजमा इमान्दार मानिसहरु धेरै रहेको तर केही खराब मानिसहरुले गरेको एउटा खराब कामलाई ठूलो रुपमा प्रचार गर्दा समस्या उत्पन्न भइरहेको उनले बताए ।
मन्त्री कार्कीले अख्तियारले गरेका कामको समेत समिक्षा गर्ने बेला भएको समेत बताए । उनले भने,‘हामी जनप्रतिनिधिको कामको समीक्षा गर्छाैं । अब अख्तियारले आफ्नो कामको पनि समीक्षा गर्नुपर्छ ।’
कतिपय अवस्थामा कानुनले दिएन भनेर काम नगर्ने तर कानुनले दिएको काम पनि नगर्ने प्रवृृत्तिमाथि पनि प्रश्न उठाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।
संघीय संसदले ८/९ वर्षमा पनि प्रदेशलाई चाहिने कानुन बनाउन नसकेको औंल्याउँदै निजामति कर्मचारी ऐन लगायतका कानुन बन्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, नगरपालिकाका प्रमुख, उप्रमुखहरु, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीले आयोगको काम कर्तव्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सभापतित्व आयोगका आयुक्त डाक्टर हरि पौडेलले गरेका थिए ।