रौतहट : रौतहटको दक्षिणी भेग बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । बिना सूचना जनताको घर भत्काएको भन्दै मेयर यादवलाई कारबाहीको माग गर्दै स्थानीयहरुले प्रहरी चौकी घेराउ गरेका हुन् ।
बौद्धिमाई नगरपालिका सरमुजवाका स्थानीयहरूले बंकुल प्रहरी चौकी घेराउ गर्दै मेयर यादवलाई कारबाहीको माग र पक्राउ परेका गंगा रामलाई रिहा गर्न माग गरेका छन् ।
दुईदिन अगाडि बिना सूचना सरमुजवा गाउँस्थित घर भत्काउन थालेपछि आक्रोशित स्थानीयहरूले मेयर यादवलाई त्यहाँबाट लखेटेर भगाएका थिए । उक्त घटनापछि मेयर यादवले प्रहरीलाई दबाब दिएर रामलाई बिना कारण पक्राउ गराएका स्थानीयको भनाइ छ ।
कुनै सूचना बिना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयरलाई कारबाही गर्नुको सट्टा निर्दोष व्यक्ति गंगा रामलाई गिरफ्तार गर्नु अत्याचार भएको भन्दै सयौंको संख्यामा आन्दोलित स्थानीयहरू प्रहरीविरुद्ध सडकमा उत्रिएको स्थानीय समाजसेवी श्रीभगवान पटेलले जानकारी दिए । बौधिमाईका मेयर यादवका अनुसार सरमुजवा दुर्गा मन्दिरदेखि पश्चिम गाउँसम्म बाटो र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १ दर्जन बढी घरटहरा गत मंसिर मसान्तभित्र हटाउन जेठ महिनामै स्थानीय प्रशासनको रोहवरमा लिखित सहमति भएको थियो ।
सहमति अनुसार मंसिर मसान्तभित्र कसैले पनि घरटहरा नहटाउँदा बाध्य भएर दुई दिन अगाडि डोजरसहित स्थलगत पुग्दा घरधनीहरु एक्कासी ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढाबाट दुईजना कर्मचारीको टाउकोमा चोट लाग्नुका साथै कयौंलाई चोटपटक र डोजरको सम्पूर्ण सिसा फुटेको मेयर यादवले बताए । उजुरीको आधारमा प्रहरीले गंगारामलाई पक्राउ गरेको तथा अन्य फरार रहेका मेयर यादवले बताए । दुर्गा मन्दिरदेखि सरमुजवा गाउँसम्म ढल तथा नाला निर्माणको लागि करिब अढाई करोडको केन्द्रीय योजना परेको छ । यस महिनाभित्र सडक तथा सार्वजनिक जग्गामा बनेका घर टहरा खाली नभएमा सिंगो योजना फ्रिज हुने मेयर यादवले बताए ।