२०८१ पुष १३ गते शनिवार / Dec 28 , 2024 , Saturday
२०८१ पुष १३ गते शनिवार
Ads

बयानमा पनि जीबी देखाएर पन्छिए रवि

ADV
अस्मिता बम
२०८१ पुष १३ गते ०६:४५
बयानमा पनि जीबी देखाएर पन्छिए रवि

काठमाडौं : सहकारी ठगीको आरोप लागेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । 

सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग उपर कास्की जिल्ला अदालतमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको बयान सकिएको हो । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए । अनुसन्धानपछि गत ७ पुसमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएपछि २ दिन लगाएर रविको बयान लिइएको हो । जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको हो ।

बयानका क्रममा अधिकांश प्रश्नमा रविले गितेन्द्रबाबु राइ अर्थात् जीबी राईलाई देखाएका छन् । लामिछानेले इजलासमा भनेका छन्, ‘जीबी राईलाई सोध्नुपर्ने प्रश्नको जबाफ मैले दिन सक्ने कुरा भएन ।’ 

कास्की जिल्ला अदालतमा रविलाई सोध्नका लागि २६ वटा प्रश्न तयार पारिएको थियो । तीमध्ये ११ वटा प्रश्न बिहीबार र बाँकी शुक्रबार सोधिएको हो । 

धेरै प्रश्न आफूसँग सम्बन्धित नरहेको जबाफ दिएका रविले आफूले गृहमन्त्री हुँदा जीबीलाई नेपाल ल्याएर बचत फिर्ता गराउन पहल गर्दागर्दै सरकार ढलेको समेत बताएका छन् । अर्थात्, अधिकांश प्रश्नमा रविले जीबीलाई देखाएर आफूमाथि लागेको आरोपबाट पन्छिनेगरी बयान दिएका छन् । 

गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम आएको जान्दाजान्दै रविले चेक काटेको मुख्य आरोप छ । उक्त कम्पनीमा जीबी अध्यक्ष हुँदा रवि प्रबन्ध निर्देशक थिए । 

इजलासमा लामिछानेलाई सूर्यदर्शन सहकारीमा शेयर सदस्य हो कि होइन ? ऋण लिएर मिलान गरेको हो कि होइन ? सहकारीको पैसा समूह मिलेर गोर्खा मिडियामार्फत अपचलन गरेको हो कि होइन ? संगठित रूपमा जीबी राईसँग संलग्नता हो कि होइन ? भनेर सोधिएको थियो ।

जबाफमा रविले सूर्यदर्शन सहकारी आफूले देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र शेयर पनि नभएको बताएका छन् । सूर्यदर्शनबाट ५ करोड रुपैयाँ गोरखा मिडियामा गएको विषय पनि रविले स्वीकारेनन् बरु यी प्रश्नमा रविले जीबी राईले दिनुपर्ने प्रश्नको जबाफ आफूले दिन नसक्ने पटकपटक दोहोर्‍याएका छन् । 

बयानका क्रममा रविले नयाँ पार्टीको अस्तित्व सिध्याउन आफूलाई फसाउन खोजिएको बताएका छन् । अदालतमा दायर गरिएका सबै अभियोग झुटा र असत्य भएका उनको जिकिर छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएर त्यसैका आधारमा तयार पारिएको प्रश्नमा रविले सबै प्रश्नमा इन्कारी बयान दिएका हुन् । लामिछानेमाथि सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

रविको बयान सकिए पनि हिरासत बसाइ भने अझै रहने छ । 

सहकारी ठगीकै अभियोग झेलिरहेका रविकै व्यावसायिक साझेदार नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी पनि उनीसँगै हिरासतमा छन् । अदालतले उनको पनि बयान लिइसकेको छ । जीबी राईको कारोबारमा सघाएको अभियोगमा पक्राउ परेकी लीला पछाईको बयान पनि अदालतमा भइसकेको छ ।

अब क्रमशः नेचर हब्र्सका संचालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, सूर्यदर्शन सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसंचालक ललितबहादुर गुरुङ, पूर्वसंचालक कृष्णबहादुर गुरुङको बयान हुने छ ।

बाँकी अभियुक्तको बयान आइतबारबाट हुने छ । दुवैतर्फको बहस सुनेर इजलासबाट न्यायाधीशले तत्काल प्राप्त प्रमाण र अपराधको गम्भीरता हेरी अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिर बसेर प्रतिवाद गर्न दिने भनेर आदेश हुने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise