काठमाडौँ : कर्णाली प्रदेशको डोल्पा जिल्लाअन्तर्गत पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा हिमपात भएको छ । यो वर्ष हिउँद लागेपछि शे-फोक्सुण्डो गाउँपालिकामा पहिलो पटक हिमपात भएको हो ।
लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा, महिला र बालबालिकालाई समस्या भएको देखिन्छ ।
हिमपातले जनजीवन कष्टकर बनाए पनि बालीनाली, यार्सागुम्बालगायत अन्य जडिबुटी उम्रनमा सहयोग पुग्ने शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेनले मध्यान्हलाई बताए । तत्कालका लागि हिमपातले समस्या पारे पनि खेतीपाती, चरणक्षेत्र राम्रो बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
डोल्पाका शे-फोक्सुण्डोलगायत अन्य बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन् । डोल्पाका गाउँबस्ती र हिमसिखरहरू समेत पुसमा परेको हिँउले सिँगारिएका छन् ।