काठमाडौं : सामना बैंकिङ पुरस्कार गुठीद्वारा ३ विधामा ६ जना पुरस्कृत भएका छन् । सामना बैंकिङ पुरस्कार गुठीले सामना बैंकिङ पत्रकारिता पुरस्कार–२०८१ अन्नपूर्ण पोष्टकी वरिष्ठ संवाददाता ममता थापा र डिजिटलतर्फ विजमण्डु डट कमका वरिष्ठ आर्थिक पत्रकार सुदर्शन सापकोटालाई प्रदान गरिएको हो ।
पत्रकारिताको माध्यमवाट बैंकिङ/वित्तीय क्षेत्रमा योगदान गरेवापत प्रत्येक दुई वर्षमा दिइने यो पाचौँ पुरस्कार थापा र सापकोटालाई संयुक्तरूपमा ४० हजार रूपैयाँ राशीका साथ प्रदान गरेको हो । यससँगै हालसम्म यस्तो पत्रकारिता पुरस्कार सात जना पत्रकारले पाइसकेका छन् । महिला पत्रकारले भने यो पहिलो पटक पाएका हुन् । गुठीको १६औँ वार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
गुठीको स्थापना २०६२ मा गरे पनि पत्रकारीता पुरस्कार भने २०७० सालबाट दिन थालिएको हो । यससँगै, गुठीले सामना वैकिङ पुरस्कार (सातौ) बीएन घर्तीले लेखेको ‘बैकिङ अनुशासन’ पुस्तकलाई पुरस्कृत गरीएको छ । उनलाई ७५ हजार रूपैयाँसहित यसवर्षको उत्कृष्ट बैंकिङ पुस्तकमा पुरस्कृत गरिको हो । गुठीले हालसम्म ९ ग्रन्थका ११ लेखकलाई पुरस्कार प्रदान गरेको छ ।
यसैगरी, बैंकिङ छात्रवृतितर्फ त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रथम वर्षका जेहेन्दार विद्यार्थीहरु क्रमशः रोहन व्यञ्जनकार, कपिल पौडेल र रोजा प्रधानांगलाई प्रदान गरीएको छ । उनीहरुले तीन वर्ष क्रमशः वि.सं २०७४, २०७५ र २०७६ का विद्यार्थीहरु हुन् । प्रत्येक शैक्षिक वर्षका विद्यार्थीहरुलाई रु१५ हजारको छात्रवृत्ति प्रदान गरिएको छ । उक्त छात्रवृत्ति २०६३ देखि २०७६ सम्मको वार्षिक परीक्षा प्रणालीअनुसार त्रिवि अर्थशास्त्रका १२ विद्यार्थीलाई प्रदान गरिएको छ । नेपालको बैंकिङ÷वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धनात्मक/विश्लेषणात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्नु यसको मुख्य उद्देश्य रहेको अध्यक्ष डा. कार्कीले प्रकाश पारे ।
वि.सं २०६२ सालमा अर्थविद् डा. कार्कीद्वारा अक्षय कोष राखी यस गुठीको अक्षय कोष खडा गरिएको थियो । हाल यो कोषमा करीव ४० लाख रूपैयाँ पुगेको छ । यसवाट आर्जित ब्याजवाट यस्तो पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । नेपालमा बैंकिङ क्षेत्रमा यस्ता किसिमका पुरस्कार प्रदान गर्ने यो एक मात्र संस्था हो । प्रत्येक २ वर्षमा उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।