२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

Nada
२०८१ पुष १५ गते १४:५९
Shares
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

नारायण अधिकारी
चितवन : नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रूपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तर्क्रियामा वक्ताहरूले व्यवसाय निकै संकटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।

ncell

यसैगरी, लेयर्स चल्ला साताको तीन लाखबाट एक लाखमा झरेको, कलर ब्रोइलर (गिरिराज) सातामा पाँच लाख उत्पादन हुने गरेकामा दुई लाखमा झरेको, दैनिक ६० लाख गोटा अन्डा उत्पादन २४ लाखमा सीमित भएको तथ्यांक प्रस्तुत गरे ।चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उनको भनाइ छ । उनका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल तीन हजार पाँच सय टनमा झरेको छ ।

मासु दैनिक १० लाख किलोबाट ६ लाखमा झरेको भट्टले जानकारी दिए । उनले भने, ‘आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका छन् ।’ नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताए । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उनले भने, ‘साना किसान धेरै विस्थापित भएका छन्, ठुलाले केही धानेका छन् ।’ बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठुला फर्महरूले जोखिम मोल्दै उत्पादन गरिरहेको उनको भनाइ छ ।

ठुला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उनले उल्लेख गरे । उनले भने, ‘अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।’ १० हजारदेखि चार लाखसम्म कुखुरा पाल्नेलाई ठुला किसानको रूपमा लिने गरिएको छ ।

ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न रु. ७० खर्च हुने भए अहिले रु. ३० मा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । यस्तै, रु. १४० मा तयार हुने लेयर्स चल्ला रु. ७० हाराहारीमा बिक्री गर्नुपर्दा धेरै विस्थापित हुनुपरेको बताए । ३८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरू बन्द भएको उनले बताए ।

यस्तै, १५ वटा लेयर्स ह्याचरीमध्ये पाँचवटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिए । उनले भने, ‘जग्गा लिलाम हुने अवस्थामा छ, राज्यले हेरेन ।’ सहुलियत कृषि ऋण हटेको भन्दै उनले चल्ला उत्पादन गर्ने माउ झिकाउनका लागि आर्थिक अभाव हुँदा ह्याचरीहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए । चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएको उनले बताए । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी रु. २५० लागत मूल्य पर्ने भए अहिले किसानले रु. १८० मा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उनको दाबी छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष डा. रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अन्डा र मासुको खपत कम भएको बताउँछन्। उनले भने, ‘एसियाली मुलुकमा एकजनाले वार्षिक १०८ वटा अन्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अन्डा र आठ किलो मासु मात्रै खपत छ ।’

पाँच वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अन्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उनले यसो हुन नसकेको बताए । उनले भने, ‘नेपालमा प्रोटिनको उपभोग निकै कम छ ।’ मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले लागत मूल्य बढेको र उत्पादनले सोअनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय संकटमा परेको बताए । उनले भने, ‘यही अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।’

यसैबिच, १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यस अवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अन्डा र मासुमा पाइने पौष्टिक तत्त्वबारेमा चिकित्सकहरूबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ । रासस

सम्बन्धित खबर