२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

Nada
२०८१ पुष १५ गते १७:२९
Shares
सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताएका छन् । 

ncell

तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवको उद्घाटन गर्दै उनले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तरण गर्न आवश्यक छ ।” 

 ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र संवर्द्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुनुहुन्छ भन्ने स्पष्ट पारेको धारणा राखे । 

 सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरुङ, सीता गुरुङ, पार्वत  गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्ड पर्व मनाउने हिसाबले नेपालमा गुरुङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र संवर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए ।

त्यस अवसरमा गुरुङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरुङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ । 

आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरुङ समुदाय जल, जङ्गल र जडीबुटीसँग संरक्षण र सामीप्यमा रहने विश्वासिलो र साहसिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ । गुरुङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ । गुरुङ समुदायको रोदीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्त्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । उक्त समुदायले यस वर्षलाई गरुडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् ।

संविधानमा व्यवस्था भएअनुसार गुरुङ समुदायले आफ्नो भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले संसारभर नै साहसिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरुङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षणमा सरकारलाई विशेष ध्यान पुर्‍याउन आग्रह गरे । महोत्सवका अवसरमा गुरुङ जातिको पहिचान, वेशभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने १०० बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर