काठमाडौं : नुवाकोटमा रहेको कुण्डला आधारभूत विद्यालयका १०५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहरुले आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, टिर्सट, टोपी, झोला, कपि, कलम वितरण गरिएको हो । क्लवका अध्यक्ष सुशान्त न्योपानेसहित लायन्स क्लवका पदाधिकारीहरु, नागरिक सचेतना समाज नेपालका सदस्यहरु, समाजसेवी, शुभकामना स्कुलका प्रचार्य कुमार ढकाल, मनकामना फुड प्रोडक्टका प्रबन्ध निर्देशक विष्णु पौडेल लगायतले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका छन् । समाजसेवी यूवाहरुले कपि, कलम, पेन्सिल र कलर उपलब्ध गराएका थिए ।
क्लबका अध्यक्ष सुशान्त न्यौपानेकाअनुसार नागरिक सचेतना समाज नेपाल, तारकेश्वर ४ मा रहेको सृजना ज्ञानसागर सेकेण्डरी स्कुल, समाजसेवी बिनोद चापागाईं, रामकुमार थापा, व्यवसायी होम बोगटी, फ्लोरोसेन्ट मा.वि.का प्राचार्य तथा समाजसेवी कमलप्रसाद न्यौपानेसहितले १०५ थान ट्रयाकसुट र टिर्सट उपलब्ध गरेका थिए ।
फ्लोरोसेन्ट मा.वि.का प्राचार्य कमलप्रसाद न्यौपानेले आमा स्वर्गीय घनकुमारी न्यौपानेको स्मृतिमा सहयोग गरेका थिए । त्यस्तै तारकेश्वर ९ मा रहेको शुभकामना इङ्लीस बोडिङ स्कुलले ५० थान झोला उपलब्ध गराएको थियो । त्यस्तै मनकामना फुड प्रोडक्टले १६० थान न्यानो टोपी उपलब्ध गराएको थियो ।
शनिबार विद्यालयमा भएको एक औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले सहयोगी हातहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अन्य विद्यालयहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं शुभआरम्भका अध्यक्ष, नागरिक सचेतना समाज नेपालका महासचिव तथा फरकपत्र द्धैमासिक पत्रिकाको प्रकाशक रामशरण न्यौपाने (सुशान्त)ले फरकपत्रको १२ औँ वार्षिकोत्सवको अवसरमा केक काटेर विद्यार्थीहरुसँग खुसियाली साटेका थिए ।
११ औँ वार्षिकोत्सवको अवसरमा फरकपत्रले काठमाडौंमा एक विशेष कार्यक्रम गरी एसईई र एसएलसीमा उत्कृष्ट जीपीए ल्याउने तारकेश्वरमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व विद्यार्थी तथा लायन्स क्लव अफ काठमाडौं शुभारम्भका अध्यक्ष रामशरण न्यौपाने (सुशान्त)ले आफुले पढेको विद्यालयमा उपस्थित भएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
न्यौपानेले भने,‘विद्यार्थी र विद्यालयले गरेको न्यानो स्वागत, सत्कारलाई सँधै सम्झिरहने छौँ ।’ उनले मानव भएर जन्मिएपछि जीवनमा सबैले केही न केही मानव सेवा गर्नुपर्ने बताए । न्यौपानेले कोरोना महामारी, महाभूकम्प र बाढी पीडितमा पनि राहत वितरण कार्य गरेको बताए । कार्यक्रममा सूर्यगढी–४ का वडाध्यक्ष रामशरण राईले अभिभावकहरुले विद्यार्थीहरु नियमित विद्यालय गए÷नगएको अनुगमन गर्न आवश्यक रहेको बताए ।
शिक्षक र विद्यालय प्रशासनले पनि विद्यार्थीहरु दैनिक आएको/नआएको सूचना राख्नुपर्ने बताए ।
लायन्स क्लव अफ काठमाडौं शुभारम्भका संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठले यस वर्षका क्लव अध्यक्ष सुशान्त न्यौपानेले सक्रियतापूर्वक उत्कृष्ट कार्यहरु गरेकोमा प्रशंसा गरे । क्लवले यस वर्ष सरसफाइ र शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँले पढेको विद्यालयमा आएर विद्यालयमा झोला, टोपी र स्टेशनरी सामग्री सहयोग गरेकोमा क्लवका अध्यक्ष सुशान्त न्यौपानेप्रति आभार प्रकट गरे ।
विद्यालयका प्राचार्य प्रलाद भट्टराईले स्वागत मन्तव्य दिएका थिए । भट्टराईले विद्यालयका शिक्षकहरुको सहयोगमा विद्यार्थीहरुलाई जुत्ताको व्यवस्था गरिने जानकारी दिएका छन् ।