२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

Nada
२०८१ पुष १६ गते १३:२१
Shares
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

घोराही : यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् ।

ncell

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उनले भने, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।”

रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल भएका छन् ।

वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।”

मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् । -रासस 

सम्बन्धित खबर