२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

युवाहरुलाई रोजगारी दिन उद्योगीहरुसँग श्रममन्त्रीको आग्रह

ADV
बीरेन्द्र साह
२०८१ जेठ २० गते ११:२०
युवाहरुलाई रोजगारी दिन उद्योगीहरुसँग श्रममन्त्रीको आग्रह

जनकपुरधाम : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्नका लागि स्थानीयलाई रोजगारी दिन उद्योग व्यवसायीहरुलाई आग्रह गरेका छन् । मधेशको प्रादेशिक राजधानी जनकपुरधाममा शनिबार आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले बेरोजगारी समस्याले ठूलो संख्यामा मधेशका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै त्यसतर्फ रोजगारदाताले ध्यान दिनुपर्ने बताए ।

मन्त्री अर्यालले सरकारले बेरोजगार समस्याको समाधानका लागि रोजगार बैंकको अवधारणा अघि सारेको पनि बताए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालले बताए । आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या परे पैसा नलाग्ने ११४१ श्रमाधान कल सेन्टरमा गुनासो राख्न पनि उनले आग्रह गरे ।

मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री बेचु लुंगेलीले मेलाले मधेश प्रदेशबाट बेरोजगारीको समस्या घटाउने बताइन् । वैदेशिक रोजगारीमा जानेका लागि, देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको पनि उनले बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनले बताए । 

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनीष झाले मेलालाई अवसरको रूपमा लिनुपर्ने बताए । ‘हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन, देश बनाउने काम गर्ने हो,’ उनले भने ।

मेला आइतबारसम्म चल्ने छ । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरूलगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ । मेलामा श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टलहरू छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise