२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

श्रमिकको टाउकोमा तीन गुणा महँगो हवाई टिकट 

Nada
२०८३ मंसिर ५ गते ०८:२१
Shares
श्रमिकको टाउकोमा तीन गुणा महँगो हवाई टिकट 

काठमाडौं : वैदेशिक रोजगारमा जाने श्रमिकको हवाई भाडा अस्वाभाविक रूपमा बढेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यसको कारण खोजी गरेको छ । हाल खाडी र मलेसियाजस्ता नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्यबाट नेपाल आउँदा २०÷२२ हजार र नेपालबाट ती गन्तव्यमा जाँदा ६०÷६२ हजार हाराहारीमा हवाई भाडा रहेको छ ।नेपाल सरकारले शून्य लागतमा श्रमिक पठाउने बताउँदै आए पनि हवाई भाडाका लागि मात्रै श्रमिकको दुई महिनाबराबरको तलब रकम खर्च भइरहेको छ । 

यस विषयमा संघले यसअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र सचिव डा. दीपक काफ्लेको ध्यानाकर्षण गराएको थियो । संघले शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)सँग पनि यसबारे छलफल गरेको छ । नेपाली श्रमिकले हवाई भाडामा व्यहोर्नुपरेको अतिरिक्त आर्थिक भार न्यूनीकरण गर्ने विषयमा अत्यन्त फलदायी छलफल सम्पन्न भएको संघका अध्यक्ष डिकबहादुर खत्री कुमारले बताए ।

छलफलका क्रममा हवाई भाडा निर्धारण तथा वृद्धि सम्बन्धमा सम्बन्धित ट्राभल एजेन्सी तथा एयरलाइन्सहरूको भूमिका र विद्यमान अवस्थाबारे विचारविमर्श भएको थियो । छलफलको निष्कर्षस्वरूप, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल  तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयहरूसँग छलफल र समन्वयका लागि औपचारिक रूपमा पत्राचार गरी समस्याको उचित निकास खोज्ने सहमति भएको अध्यक्ष खत्रीले बताए ।

यात्रुको चाप बढी हुँदा सिट वा टिकट उपलब्ध नहुनुलाई परिस्थितिजन्य रूपमा स्वाभाविक मान्न सकिए पनि बढी मूल्य तिर्दा मात्र टिकट उपलब्ध हुने अवस्था कुनै पनि दृष्टिकोणबाट स्वाभाविक मान्न नसकिने संघको भनाइ छ । अध्यक्ष खत्रीका अनुसार संघले हवाईभाडा नियन्त्रणका लागि उचित कदम चाल्न र तीनैवटा अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारु गर्न पनि सरकारसँग माग गरेको छ । कम्तीमा ४ घण्टाको दूरीमा चल्ने गरी उडानको व्यवस्था मिलाउनुपर्ने विकल्पमा जानुपर्ने उनको भनाइ छ । 

हवाई टिकटमा भएको अस्वाभाविक मूल्यवृद्विमा ट्राभल्स एजेन्सीहरूको बदमासी भएको अनुमान गरे पनि संघले अन्तिम निष्कर्षमा पुग्न सबै सरोकारवालापक्षसँग छलफल गर्ने बताएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर