
काठमाडौँ : वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा कानुन अधिकृत निर्मला गुरुङ छन् ।
नेपाल–मलेसिया श्रम समझदारीविपरीत वैदेशिक रोजगारीका नाममा रकम उठाई विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोप उनीहरूमाथि छ । अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको र पदको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।