
काठमाडौं : गैरआवासीय नेपाली संघको ९औं मध्यपूर्व क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न आयोजक समिति सक्रियतासाथ जुटेको छ । आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको दोहामा सम्मेलन आयोजना हुन गइरहेको छ ।
प्रमुख अतिथि तथा विशेष अतिथिका रूपमा सहभागिताका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापा लगायतलाई औपचारिक निमन्त्रणा पत्र प्रदान गरेको गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकहित, सुरक्षा, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रमिकका समस्या तथा गैरआवासीय नेपालीको सरोकारका विविध विषयमा नीतिगत बहस र संवाद गर्ने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो । उच्चस्तरीय नेपाली अधिकारीहरूको उपस्थितिले सम्मेलनलाई थप उचाइ प्रदान गर्ने संयोजक श्रेष्ठले बताए ।
संघले सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी तथा कोषको टोलीसँग पनि भेटघाट तथा छलफल गरेको छ । उक्त भेटघाटमा संयोजक श्रेष्ठसँगै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिवालयका सिइओ राजेन्द्रकुमार राउतको समेत उपस्थिति थियो ।
भेटका क्रममा सम्मेलनमा समावेश गरिएको सामाजिक सुरक्षा कोषसम्बन्धी विशेष सत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, कोषमा आबद्धता तथा यसबाट प्राप्त गर्न सकिने लाभ र सुविधाका विषयमा समेत विचारविमर्श भएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र भविष्यको सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोषसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा छलफल उपलब्धिमूलक रहेको पनि संयोजक श्रेष्ठले बताए ।