२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दलहरूले बनाए प्रतिष्ठा, प्याकुरेलले गरे अस्वीकार

ADV
भावना पाठक
२०८१ असार १० गते ०८:०८
दलहरूले बनाए प्रतिष्ठा, प्याकुरेलले गरे अस्वीकार

काठमाडौं : कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले दक्षिण कोरियाको राजदूतमा प्याकुरेलको नाम सिफारिस गरेको थियो । 

प्रमुख सत्ताघटक नेकपा एमालेको कोटाबाट प्याकुरेल राजदूत सिफारिस भएका थिए । तर प्याकुरेलले राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै पद अस्वीकार गरेका हुन् ।

पद अस्वीकार गर्दै प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयलाई पत्र बुझाएका छन् । उनले राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्नो रुचि र सहमति नभएको पत्रमा उल्लेख गरेका छन् ।

राजनीतिक दलहरूले सत्ता गठबन्धनको चाहना अनुसार राजदूत फेरेर प्रतिष्ठाको विषय बनाउँदा सिफारिसमा परेका सुशील प्याकुरेलले पद अस्वीकार गरिदिएका हुन् । विज्ञ व्यक्तिमाथि दलीय आवद्धता देखाइदिने प्रवृत्तिलाई राजदूत पद अस्विकार गरेर प्याकुरेलले शीर्ष नेताहरूलाई नैतिकताको झापड हानेका हुन् ।

बिहीबार सत्ता गठबन्धनका तीन प्रमुख दलले राजदूतको भागवण्डा गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेबीच भएको छलफलले ११ देशको राजदूतमा भागवण्डा गरेको थियो । 

रिक्त ११  मध्ये सत्तारुढ दलहरुबीच भागबण्डा भएको थियो । त्यसअनुसार शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आठ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । भारतका लागि राजदूतमा पूर्वमुख्यसचिव तथा बेलायतका लागि पूर्वराजदूत लोकदर्शन रेग्मी सिफारिस भएका छन् । 

तत्कालीन नेकपा नेतृत्वको सरकारले उनलाई बेलायतका लागि राजदूत नियुक्त गरेर तत्कालीन परराष्ट्रसचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको थियो । नेकपा फुटसँगै गठन भएको कांग्रेस–माओवादी गठबन्धन सरकारले रेग्मीसहितका राजदूतलाई फिर्ता बोलाएको थियो । 

सरकारले अमेरिकाका लागि पूर्ववाणिज्यसचिव तथा कोलकाताका लागि पूर्वमहावाणिज्यदूत भइसकेका चन्द्रकुमार घिमिरेलाई राजदूतमा सिफारिस गरेको छ । बेलायतका लागि सरकारले डा. विजन पन्तको नाम सिफारिस गरेको छ । अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गत गरिबी र विकास कार्यक्रमको दक्षिण एसिया प्रमुख रहेका उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको विकास तथा सामाजिक क्षेत्रका सल्लाहकार थिए । 

डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् । प्याकुरेल मानव अधिकार आयोगका पूर्वआयुक्त हुन् भने तुलाधर र तिमिल्सिना पनि अधिकारकर्मी हुन् । 

तुलाधर वरिष्ठ मानव अधिकारकर्मी पद्यरत्न तुलाधरकी छोरी हुन् । सरकारले स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानको नाम सिफारिसमा परेका थिए । 

सिफारिस भएका राजदूतहरूको नाम संसदीय सुनुवाइ समितिले पारित गरेपछि सरकारले स्वीकृतिका लागि सम्बन्धित देशमा पठाउनेछ । सहमति आइसकेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ । राष्ट्रपतिबाट राजदूतहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि कार्यक्षेत्रमा जानेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise