विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल(प्याब्सन)का प्रमुख सल्लाहकार टिकाराम पुरीले सरकार गम्भीर नभएकै कारण युवाशक्तिहरु पलायन भएको बताएका छन् ।
प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालमै पढ्दै कमाउने वातावरण तयार भए विद्यार्थी पलायन हुने क्रम रोकिने बताए । उनले भने, ‘श्रमको सम्मान र मूल्य हुनुपर्छ, पढ्दै कमाउने वातावरण तयार भए युवा पुस्ताले बाध्यात्मक रुपमा विदेशीने क्रम रोकिन्छ ।’
यसतर्फ सरकारको ध्यान जान नसकेको भन्दै पुरीले देशको विकास र समृद्धिको लागि पनि देशमा शिक्षा अनुसारको पेशा गर्न पाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
यस्तै उनले परेका बेला बोल्न र आफ्नो संगठनको कुरा राख्न नसक्ने व्यक्तिबाट नेतृत्व सफल नहुने बताए । मुलुक संघीयतामा गएपछि तीन तहका सरकार छन् भन्दै उनले तीन वटै सरकारसँग कुरा राख्न सक्ने र नीति निर्माणमा आफ्नो उपस्थिति खोज्न सक्नुपर्ने बताए ।
यस्तै प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी, गोपाल आचार्य, टीआर ढकाल लगायतले प्याब्सनले देशको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलले निजी विद्यालयहरूसँग समन्वय गरेर अघि बढ्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।