२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

एकीकृत घुम्ती शिविर : तीन सय बढी नागरिकले पाए सेवा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष १९ गते २१:५३
एकीकृत घुम्ती शिविर : तीन सय बढी नागरिकले पाए सेवा

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिकाले वडा नम्बर ५,६ र ७ मा  एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले नगरपालिकाले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सेवा दिन सुरु गरिएको शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर ६ जुकेना देउरालीबाट बिहीबार एक समारोहबीच नगरपालिकाका प्रमुख छबिलाल पौडेलले सेवाग्राहीलाई अपाङ्ग परिचयपत्र हस्तान्तरण गरी घुम्ती शिविर सञ्चालन गरिएको घोषणासहित कार्यक्रम शुभारम्भ गरेका थिए । घुम्ती शिविरमार्फत नागरिकलाई राज्यले प्रदान गर्ने सेवासहित नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहबाट प्रदान गरिएको नगरपालिकाका उपप्रमुख गिता भाटले जानकारी दिइन् ।  

कार्यक्रममा नगरप्रमुख छविलाल पौडेलले भने,‘नेपालमा तीन तहका सरकार छन् । एउटा सरकारले गर्ने काम रेडियो टेलिभिजनबाट जानकारी पाइन्छ । एउटा सरकार बेला–बेला गाउँमा झल्याक झुलुक गर्छ । अर्को सरकार जनताको सरकार हो, जुन सरकार सेवा दिएर तपाईंका कुरा सुन्न बस्ती गाउँटोलमा पुग्छ ।’

शीतगंगा ६ देउरालीबाट  सुरु भएको घुम्ती शिविर नगरपालिकाका धेरै वडामा पुगेर सेवा दिने तयारी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले जानकारी दिए । 

वडा तहमा सञ्चालित शिविरबाट नागरिकलेविभिन्न प्रकारका सिफारिस, स्वास्थ्यकर्मीबाट स्वास्थ जाँच, अपांग परिचयपत्र, योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र, महिला शाखा, कृषि शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले नगरपालिकाबाट दिने सेवा नागरिकले घरको नजिकबाट लिएका छन् ।

योजना अधिकृत नुमलाल खनालका अनुसार शिविरमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर नगरपालिकाले सञ्चालन गरेको हो । ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’ भन्ने मूल नारासहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शाखा प्रमुखहरु सेवा लिएर गाउँमा आएपछि आफुहरु हर्षित भएको वडा नं.७ का स्थानीय टान बहादुर क्षेत्रीले बताए ।

सबै वडामा गरिएको व्यवसाय दर्ता, व्यवसाय इजाजत, व्यवसाय पुँजी हेरफेर, व्यवसाय नामसारी, व्यवसाय खारेजी, व्यवसाय नवीकरण र योजना सम्झौता तथा राजश्व संकलन गरिएको नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द्रमणि बेल्वासेले जानकारी दिए । शिविरमार्फत् सबै वडामा गरी ३४ वटा भन्दा बढी यो वर्ष उपभोक्ता समितिमार्फत सम्पन्न हुनुपर्ने योजनाहरूको सम्झौता भएको योजनाशाखाका कर्मचारी लक्ष्मी भट्टराईले जानकारी दिइन् । 

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष ऋषि रेश्मीले शिविरको सफलताप्रति खुशी व्यक्त गर्दै शितगंगा नगरपालिकाले नागरिकहरूको हितमा राम्रो कदम चालेको बताए । नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू र स्वास्थ्यकर्मीहरूको समन्वयमा सेवा छिटोछरितो रूपमा उपलब्ध गराउँदा नागरिकहरूले ठूलो राहत महसुस गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise