रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ ।
गौर नगरपालिका वडा नम्बर ५ मा संचालन भएको ३ वटा अवैध भट्टीबाट ठूलो परिणाममा घरेलु मदिरा, कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।
बेच्न तथा तयारी अवस्थामा रहेको घरेलु रक्सी, कच्चा पदार्थ, रक्सी बनाउन प्रयोग गरिएको भाँडासहित बरामद भएका सबै सामान नष्ट गरिएको निरीक्षक गुप्ताले बताए ।
प्रहरीले ७ सय लिटर घरेलु रक्सी, २ हजार ८ सय लिटर कच्चा पदार्थ, रक्सी बनाउन प्रयोग गरिएको भाँडा ४ थान, डेक्ची ८ थान, बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुल्हो ४,प्लास्टिक ग्यालन १४०, प्लास्टिक बाल्टिन १० थानसहित बरामद सबै सामान नष्ट गरेको बताएको छ।
फरार भट्टी संचालकहरूको खोजी भईरहेको निरीक्षक गुप्ताले बताए । उनले बिना ईजाजत मदिरा बिक्री वितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारबाहीको भागेदर हुने बताए ।
मदिरा बिक्री वितरणका साथै ओसार पसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको उनले बताए ।