२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

ओलीको राजनीतिक प्रतिवेदन : भारत र अमेरिकासँग असन्तुष्ट, चीनको प्रशंसा

ADV
निमिष झा
२०८१ पुष २३ गते २०:०३
ओलीको राजनीतिक प्रतिवेदन : भारत र अमेरिकासँग असन्तुष्ट, चीनको प्रशंसा

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान विश्व परिस्थिति, भू–राजनीति र एमालेको विदेश नीतिबारे विश्लेषण गरेका छन् । पार्टीको जारी आठौं केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीति प्रतिवेदनमा चीन, भारत र अमेरिकालाई हेर्ने एमालेको दृष्टिकोण प्रस्ट्याएका छन् ।

नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा टिप्पणी गर्दै उनले भारत, चीन र अमेरिकासँगको सम्बन्धको गहिरो विश्लेषण गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो दस्तावेजमा भारत र अमेरिकाको आलोचना गरेका छन् भने चीनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भारतप्रति खासै आक्रामक नबनेका ओलीले अमेरिकाको निकै आलोचना गरेका छन् ।

ओलीले नेपालले असंलग्न र सन्तुलित परराष्ट्र नीति अपनाउँदै ३ प्रमुख शक्ति राष्ट्रहरूसँग सम्बन्ध व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । छिमेकीहरूको संवेदनशीलता र क्षेत्रीय स्थिरता कायम राख्दै नेपालले आन्तरिक विकास र साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् । भू–राजनीतिक दबाबबाट जोगिँदै नेपालले आफ्ना विकास लक्ष्यलाई सुरक्षित राख्नुपर्ने सुझाव ओलीको छ ।

अमेरिकाको ताइवानप्रतिको नीति, भारतसँगका विवाद र चीनसँगको बीआरआई साझेदारीले नेपालको परराष्ट्र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । ओलीले यी चुनौती र अवसरलाई विवेकपूर्ण ढंगले सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

भ्रमणका लागि भारतले निम्तो नदिएको असन्तुष्टि उनले प्रतिवेदनमा पोखेका छन् । प्रतिवेदन भारत र अमेरिकाविरोधी तर चीनपरस्त देखिन्छ ।

प्रतिवेदनमा नेपालको बाह्य सम्बन्ध र राष्ट्रिय हितका विषयमा राम्ररी व्याख्या छ । भारत, चीन र अमेरिकाको भूमिकालाई व्याख्या गर्दै उनले यी देशहरूको नेपालसँगको रणनीतिक स्वार्थका विषयमा मिहीन ढंगले विश्लेषण गरेका छन् ।

बदलिँदो भू–राजनीतिका कारण नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा थप जटिल बन्दै गएको ओलीको विश्लेषण छ । ‘बदलिँदो भू–राजनीति, भू–अर्थनीति र शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाका बीचमा नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने अभिभारा थप जटिल बन्दै गएको छ’, प्रतिवेदनमा भनिएको छ ।

शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले केही नयाँ अवसर पनि सिर्जना गरेको ओलीले भनेका छन् । 

नेपाल–भारत, भारत–पाकिस्तान, दक्षिण एसिया, अमेरिका–चीन, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, हुथी विद्रोही, एक चीन नीति, म्यान्मारको लोकतन्त्र, सार्क, बिमस्टेक, जी– ७, ब्रिक्सलगायतका विषयमा ओलीले आफ्ना धारणा व्यक्त गरेका छन् ।

यसका साथै दक्षिण एसियामा भारतको भूमिका तथा ताइवानमा अमेरिकी भूमिका, बंगलादेशको घटनामा पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ताइवान र बीआरआई सहकार्यका सन्दर्भमा प्रतिवेदनमा चीनको प्रशंसा ओलीले गरेका छन् ।

भारतसँग असन्तुष्टि, चीनको प्रंशसा

ओलीको प्रतिवेदनमा भारतको विरोध छ भने चीनको प्रशंसा गरिएको छ । यद्यपि, उनले भारतसँगको सम्बन्धमा उपलब्धि र असन्तुष्टिको मिश्रित भाव व्यक्त गरेका छन् । ओलीको प्रतिवेदनले भारतप्रति यसअघि राखेको धारणा खासै बदलेको देखिँदैन । तर, चीनप्रति उनको स्थिर र सकारात्मक भाव पनि यथावत् नै छ ।

भू–राजनीतिक विश्लेषक अरुण सुवेदी भारत र अमेरिकालाई हेर्ने नेपालका कम्युनिस्ट पार्टीहरूको धारणा २००६ सालदेखि एउटै रहेको टिप्पणी गर्छन् । ‘भू–राजनीतिक परिदृश्य बदलिए पनि भारत र अमेरिकालाई हेर्ने उनीहरूको नजर भने बदलिएको छैन’, सुवेदीले मध्यान्हसँग भने ।

उनले भारत र अमेरिकारलाई विरोध नगरेको कम्युनिस्ट पार्टीहरूको प्रतिवेदन नै नपाइने उल्लेख गर्दै भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद भनेर कम्युनिस्ट पार्टीहरूले भाष्य निर्माण गरेको टिप्पणी गरे । 

भारतले छिमेकी देशको सार्वभौमसत्ता र सरोकारलाई आवश्यक ध्यान नदिएको बुझाइ ओलीको छ । भारतको यस कार्यले गर्दा यस क्षेत्रको साझेदारी अपेक्षित रूपमा अगाडि बढ्न नसकेको, छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले ध्यान नदिएको, भारतसँग यस क्षेत्रका देशहरूको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न नसकेको ओलीले प्रतिवेदनमा लेखेका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा चीनसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । चीनसँग १९ मंसिरमा हस्ताक्षरित बीआरआई फ्रेमवर्क सहकार्यलाई निकै ठूलो उपलब्धिका रूपमा उनले व्याख्या गरेका छन् । बीआरआईलाई नेपालको विकासका लागि सुनौलो अवसर भन्दै यसलाई भ्रम र मिथ्या प्रचारबाट मुक्त हुनुपर्ने जोड दिएका छन् ।

विश्लेषक सुवेदी भन्छन्, ‘भारत र अमेरिकालाई पुरानै चस्माबाट हेरेर उनीहरूले धर्म पालना गरिरहेका छन् ।’

ट्रम्पको पुनः उदय

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व राजनीति र अर्थतन्त्र तरंगित भएको बुझाइ ओलीको छ ।

‘अमेरिका–चीन तनावको प्रभाव नेपालमा कस्तो पर्ने छ भन्ने कुरालाई पनि हामीले सूक्ष्म ढंगले अध्ययन विश्लेषण गर्नुपर्छ’, ओलीले लेखेका छन् ।

अमेरिकाको ‘उत्तेजनात्मक गतिविधि’ले क्षेत्रीय स्थिरता र विश्व शान्तिलाई असर पुर्‍याएको तर्क ओलीको छ । सैन्य ध्रुवीकरणले समस्याहरू जटिल बनाउने भन्दै नेपालले तटस्थता कायम गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

सार्क र बिमस्टेक

अध्यक्ष ओलीले निष्क्रिय रहेको सार्क र चलायमान हुन नसकेको बिमस्टेकप्रति पनि आफ्नो धारणा प्रकट गरेका छन् ।

भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको ओलीको टिप्पणी छ । ‘सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा छ । बिमस्टेक कामकाजी बन्न सकेको छैन’, प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति चिन्तित रहेको उल्लेख ओलीले गरेका छन् । २ ठूला छिमेकी भारत र चीनबीचको सम्बन्ध सामान्यीकरण हुनु नेपालको हितमा रहेको उनको भनाइ छ ।

अमेरिका र ताइवान सम्बन्ध

अमेरिका आफैंले स्वीकारेको ‘एक चीन नीति’विपरीत गएको आरोप ओलीको छ । ‘विगतमा आफैंले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ’, प्रतिवेदनमा लेखिएको छ ।

एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रिकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानिकारक भएको उनको विश्लेषण छ ।

ओलीले प्रतिवेदनमा रुस–युक्रेन युद्ध, श्रीलंकामा राष्ट्रपतिको निर्वाचन, बंगलादेशको राजनीतिक उतारचढाव, हमास–इजरायल युद्धको पनि विश्लेषण गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise