२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बेलग्रेडमा १० जना नेपाली अलपत्र

shivam cement
२०८१ असार ११ गते ०७:५७
Shares
बेलग्रेडमा १० जना नेपाली अलपत्र

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सर्वियाको राजधानी बेलग्रेडमा १० जना नेपाली अलपत्र परेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सोमबार विशेष समय लिएर बोल्दै सांसद गुरूङले वैदेशिक रोजगारीका नाममा नेपाली युवाहरू ठगिने क्रम नरोकिएकाले सरकार गम्भीर हुनुपर्ने माग गरे ।

कांग्रेसको जनसम्पर्क समिति कुवेतले आयोजना गरेको कार्यक्रम भाग लिएर स्वदेश फर्किने क्रममा साढे ६ लाख रूपैयाँ खर्च गरेर सर्वियाको राजधानी बेलग्रेड पुगेर फर्केका ५ जना नेपाली युवाहरूसँग कतारको दोहा ट्रान्जिटमा भेट भएको भन्दै सांसद गुरूङले थप १० जना बेलग्रेडमै अलपत्र अवस्थामा रहेको जानकारी पाएको बताए ।

सांसद गुरूडले बेलग्रेडमा अलपत्र परेकामध्ये झापा र बर्दियाका युवाहरू रहेको भन्दै वैदेशिक रोजगारका नाममा प्रतियुवा साढे ६ लाख रूपैयाँ उठाउने र काम नै नभएको विदेशी कम्पनीमा पठाउने विषय डरलाग्दो भएको टिप्पणी गरे । गुरूङले झापाको खगोल म्यानपावर कम्पनीले काठमाडौंको डाइनामिक म्यानपावर कम्पनीमा पठाएको र डाइनामिक म्यानपावर कम्पनीले सर्वियाको बेलग्रेड पठाएको जानकारी पाएको संसदमा उल्लेख गरे ।

तर फर्किएकामध्ये झापाका सन्तोषकुमार खवासले आफुहरू ग्लोबल डायनामिक म्यानपावर कम्पनीबाट गएको बताएको अवस्थामा उपसभापति गुरूङले कसरी खगोल म्यानपावरको नाम लिए आफुहरूलाई आश्चर्य लागेको बताए । उनले भने, ‘जहाजमा सांसदसँग कुराकानी भएको हो, तर हामीले खगोल भनेका थिएनौ र उक्त म्यानपावर कम्पनीबारे हामीलाई केही थाहा नै थिएन । उहाँले कसरी उक्त नाम लिनुभयो ? उहाँले नै जान्ने कुरा भयो ।’

खवासले काठमाडौं फर्केका युवाहरूले जुन शर्तमा आफुहरू बेलग्रेड गएको हो, त्यो शर्त पूरा नभएपछि म्यानपावर कम्पनीले क्षतिपूर्ति दिएकाले आफुहरू घर फर्किन लागेको बताए । यसैगरी सांसद गुरूङले सरकारले प्रतिबन्ध लगाएको अवस्थामा पनि आश्चर्यजनक रूपमा नेपाली महिला हाउस मेडको काममा कुवेत पुगेको विषयमा पनि संसदको ध्यानाकर्षण गरे । उनले भने, ‘६ महिनाको अवधिमा दश हजार नेपाली महिला दिदीबहिनी कुवेतमा घरेलु कामदारको रूपमा अत्यन्तै अवस्थामा पुगेको पाएँ । नेपाली महिलालाई गैरकानूनी रुपमा कुवेतलगायत देशमा पुर्‍याउने काम झन्–झन् बढ्दै गएकामा सरकारको ध्यान पुग्न सकेको देखिएन ।’

घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै सांसद गुरूङले कुवेतमा हाल ४१ हजार नेपाली महिला कामदार रहेकोमा २७ हजार गैरकानूनी रुपमा पुगेको जानकारी पाएको बताए । उनले भने, ‘युवा ठगिएको विषयसहित नेपाली महिला गैरकानूनी रुपमा कुवेत पुर्‍याउने क्रम तत्कालै रोक्ने विषयमा पनि सरकारको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छु ।’

सम्बन्धित खबर