काठमाडौं : एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पिआइएमएस)को मान्यता प्राप्त गरेको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिसँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पिआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको एनसेलको दाबी छ । एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आइटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेको जनाइएको छ ।
‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुंगा हो, यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैँ समर्पित रहेको स्पष्ट पार्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
सो उपलब्धिसँगै एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ । ग्राहक र व्यावसायिक क्लाइन्टहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो नेतृत्वलाई थप सुदृढ पारेको छ ।