२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

मलेसिया गएका कामदारबीच छुरा हानाहान

ADV
तिलोचन गौतम
२०८१ माघ १ गते ०६:२५
मलेसिया गएका कामदारबीच छुरा हानाहान

मलेसिया : करिब ३ साताअघि कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिको विषयमा भएको झगडामा वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारबीच छुरा हानाहान भएको छ ।

नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

सोही क्रिकेट खेलको विषयलाई लिएर २ नेपाली कामदारबीच मलेसियाको जासिनमा रहेको कुखुरा प्रशोधन कारखानाको होस्टलमा शनिबार झडप भएको थियो । झडपमा आफैं पनि  घाइते भएका २३ वर्षीय नेपाली कामदारले सुतिरहेको अवस्थामा अर्का कामदारमाथि आक्रमण गरेको मलेसियाको मेलकाका प्रहरीले बताएको छ ।

आक्रमणकारी युवाले आफ्नो टोलीले खेल हारेकामा दुःखी र नतिजाबाट निराश भएको अवस्थामा आफूलाई होच्याएर जिस्क्याएका कारणले सहन नसकी आक्रमणमा उत्रिएको प्रहरीलाई बताएका छन् । आक्रमणकारीले भान्साको चक्कुले प्रहार गरेको प्रहरीले बताएको छ ।

एनपीएलको नतिजापछि उनीहरूबीच निरन्तर झगडा भइरहने गरेको होस्टलमा बस्ने अन्य नेपाली कामदारहरूले बताएका छन् । आक्रमणकारी र घाइते दुवैको नाम मलेसिया प्रहरीले सार्वजनिक गरेको छैन । तर, आक्रमणकारी कामदार विगत ४ वर्षदेखि मलेसियामा लरी चालकको काम गर्दै आएको प्रहरीले बताएको छ । प्रहरीले उनलाई सोही दिन पक्राउ गरी थुनामा राखेको बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise