२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

मलेसियामा पाम तेल संकलनका लागि विदेशी कामदार भर्नाको तयारी

Nada
तिलोचन गौतम
२०८३ कार्तिक २२ गते ०६:१५
Shares
मलेसियामा पाम तेल संकलनका लागि विदेशी कामदार भर्नाको तयारी

क्वालालम्पुर : मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पाम तेल संकलनका लागि विदेशी कामदार भर्ना गर्ने स्वीकृति दिने तयारी भइरहेको बताएका छन् । उनले प्लान्टेसन कम्पनीहरूले यान्त्रीकरणमार्फत विदेशी कामदारमाथिको निर्भरता कम गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री अनवरले विदेशी कामदारको कोटा स्वीकृत गर्न ढिलाइ हुँदा अर्को वर्ष पाम तेल उत्पादनमा असर पर्न सक्ने देखिएकाले सकेसम्म छिटो स्वीकृति खुला गर्ने विषयमा परामर्श भइरहेको बताए ।

नेपाल–मलेसियाबीच नेपाली श्रमिक भर्ना प्रक्रियामा छनोट भएका म्यानपावर कम्पनीसम्बन्धी विवादका कारण मलेसियामा नयाँ रोजगारी तत्कालका लागि बन्द अवस्थामा छ । प्लान्टेसन क्षेत्रको स्वीकृति खुला भए पनि नेपाली श्रमिकले तत्कालै लाभ पाउने अवस्था भने छैन ।

मलेसियामा मल छर्ने र झारपात नियन्त्रण गर्ने कामका लागि पहिलेदेखि नै मेसिनरी प्रयोगमा ल्याइएको छ । तर, पाम तेल संकलन अर्थात् कटनीको काम अझै पनि शारीरिक श्रममा निर्भर छ । यस क्षेत्रमा नेपाली र बंगलादेशी श्रमिक कार्यरत छन् ।

विदेशी श्रमिकमाथिको निर्भरता घटाउन प्लान्टेसन क्षेत्रमा पनि यान्त्रीकरण गर्नुपर्ने प्रधानमन्त्री अनवरको भनाइ छ । उनले भने, ‘यदि विशेष गरी कटनीका लागि हो भने ठिक छ । हामी त्यसलाई स्वीकृति दिनेछौं । तर त्यसपछि तपाईंहरूले यान्त्रीकरणमार्फत विदेशी कामदारमाथिको निर्भरता कम गर्न प्रतिबद्धता जनाउनुपर्छ ।’

प्रधानमन्त्री अनवरले नाफा कमाउने तर यान्त्रीकरणमा लगानी नगर्ने प्लान्टेसन कम्पनी सञ्चालकहरूको आलोचना गरे । उनले प्लान्टेसन सञ्चालकहरूले विदेशी कामदारलाई कमजोर जीवनयापनको अवस्थामा राखेर शोषण गर्ने कार्य अस्वीकार्य हुनेमा पनि जोड दिए ।

कृषि तथा पाम तेल बगानमा काम गर्ने श्रमिकहरू जंगलको एकान्त क्षेत्रमा दैनिक १२ घण्टासम्म निरन्तर काम गर्ने गरेका छन् । उनीहरू साँघुरो र अपर्याप्त आवासमा बस्न बाध्य छन् भने सफा पानी र चिकित्सकको पहुँचबाट समेत टाढा रहने गरेका छन् ।

laxmi recruitement

सम्बन्धित खबर