
काठमाडौं : वैदेशिक रोजगार बोर्डले आफ्नो १८औं स्थापना दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तहरूको प्रतीक्षा केही भए पनि सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले बताएका छन् ।
नेपाली श्रमिकहरूको वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा सकेसम्म कुनै पनि नेपाली श्रमिकले विदेशमा अंगभंग हुनुपर्ने वा जीवन गुमाउनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बोर्डले जनाएको छ । पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा डिजिटल सामग्रीको पहुँच श्रमिक र समुदायस्तरसम्म पुर्याउने काम पनि भइरहेको बोर्डले बताएको छ ।
त्यसैगरी, नयाँ र फलदायी श्रम गन्तव्यहरूको पहिचान गर्ने तथा गन्तव्य मुलुकका सरकारहरूसँग गरिने श्रम सम्झौतामा श्रमिकका हित र सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक सहकार्य र समन्वयको काम पनि अगाडि बढाइएको बोर्डले जनाएको छ ।
स्वदेश फर्किएका श्रमिकहरूको पुनःएकीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सीपमूलक तालिम आयोजना गर्ने तथा सीप प्रमाणीकरणमा सहायता गर्ने कामलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गरिने पनि कार्यकारी निर्देशक उप्रेतीले बताएका छन् ।