२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

सामुदायिक विद्यालयप्रति घट्दो आकर्षण : १३ जना विद्यार्थी, १ शिक्षक

ADV
कुलेन्द्र शाही
२०८१ माघ १ गते ०६:३५
सामुदायिक विद्यालयप्रति घट्दो आकर्षण : १३ जना विद्यार्थी, १ शिक्षक

सुर्खेत : सुन्दा अचम्म लाग्न सक्छ, जुम्लाको एक विद्यालयका ३ वटा कक्षामा विद्यार्थीको संख्या शून्य छ । त्यसले स्पष्ट जनाउँछ कि सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्दो क्रममा छ ।

जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडीचौरस्थित गणेश आधारभूत विद्यालयमा ३ वटा कक्षामा विद्यार्थीको संख्या नै शून्य भएको हो । विद्यालयमा विद्यार्थी मात्र होइन, शिक्षकको संख्या झनै नाजुक छ, जहाँ विद्यालयका प्रधानाध्यापकबाहेक अरू शिक्षक नै छैनन् । 

उक्त गाउँमा करिब १५० घरधुरी छन् तर घरधुरीको संख्या १५० भए पनि सामुदायिक विद्यालयमा भने विद्यार्थीको संख्या निरन्तर ओरालोमा छ । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण उक्त (गणेश आधारभूत विद्यालय)मा जम्मा १३ जना विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक सत्रमा विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान संचालन गरे पनि सोचेअनुसार विद्यार्थी आउन सकेनन् बरु त्यही विद्यालयमै अध्ययनरत विद्यार्थी निजी विद्यालयमा पढ्न गए । 

३ विद्यार्थीमा १ जना बाहिर 

गणेश आधारभूत विद्यालयमा गत वर्ष २७ जना विद्यार्थी अध्ययनरत थिए तर यस वर्ष भने यहाँ १३ जना विद्यार्थी मात्र अध्ययनरत छन्, जसमा १ कक्षामा १० र २ कक्षामा ३ जना विद्यार्थी छन् । ती ३ जना विद्यार्थीमध्ये १ जना विद्यार्थी गाउँभन्दा बाहिर छन् । विद्यालयका प्रधानाध्यापक नन्दकृष्ण चौलागाईंले २ कक्षामा ३ जना विद्यार्थीमध्ये १ जना विद्यार्थी गाउँबाहिर रहेको बताए ।

सरकारीभन्दा निजी विद्यालयप्रति मोह

शहरका विद्यालयमा मात्र होइन, गाउँमा पनि अभिभावक र विद्यार्थी सरकारीभन्दा निजी विद्यालयमा बढी आकर्षित देखिन्छन् । उक्त गाउँमा सरकारीभन्दा निजी विद्यालयमा विद्यार्थीहरू बढी अध्ययनरत छन् ।

गाउँमा पढ्ने विद्यार्थी भए पनि अधिकांश विद्यार्थीहरू निजी विद्यालयमा अध्ययनरत रहेका प्रअ चौलागाईंले जानकारी दिए । उनले हरेक वर्षको भर्ना अभियानमा शिक्षकहरू अभिभावकको घरदैलोमा पुगे पनि अभिभावकले विद्यार्थी नपठाउने गरेका गुनासो गरे ।

‘गाउँमा विद्यार्थी छन्, हामी भर्ना अभियानमा गाउँगाउँ जान्छौं तर अभिभावकले बोर्डिङ स्कुलमा विद्यार्थी पठाउँछन्’, उनले थपे, ‘गाउँमा एउटा बोर्डिङ स्कुल छ । यहाँका विद्यार्थी पनि त्यही विद्यालयमा अध्ययनरत छन् ।’

उनका अनुसार अहिले उक्त बोर्डिङ स्कुलमा करिब १०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘साना बच्चा दिदी–दाइसँगै माध्यमिक विद्यालयमा जान्छन्’, उनले भने, ‘नजिकै निजी विद्यालय पनि छ । कतिपय अभिभावकले सदरमुकाम खलंगामा खोलिएका निजी विद्यालयमा छोरा–छोरीलाई पठाउँछन् ।’ 

प्रधानाध्यापक चौलागाईं नजिकै माध्यमिक विद्यालय र बोर्डिङ स्कुल भएकाले विद्यार्थी रोक्न नसकिएको बताउँछन् ।

शिक्षक पनि १ जना मात्र

२०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा भौतिक संरचनाको अवस्था राम्रो छ । घेराबारा सबै गरिएको छ । खानेपानी र शौचालयको सुविधा पनि राम्रै छ तर विद्यालयमा १ जना स्थायी शिक्षक छन् । उनी विद्यालयका प्रधानाध्यापक हुन् । 

यस्तै, कार्यालयमा १ जना कार्यालय सहयोगी पनि छन् । प्रअ चौलागाईं काम पर्दा विद्यालयमा नआएको दिन उनैले विद्यालय खोल्ने र विद्यार्थीलाई सामान्य लेखपढ सिकाउने गर्छन् । विद्यार्थी नभएको भन्दै गाउँपालिकाले २ शिक्षकलाई विद्यार्थी चाप भएको अर्कै विद्यालयमा पठाइसकेको छ । 

१२ जना विद्यार्थीमा दलित र विपन्न

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सबै गरिब तथा दलित परिवारका मात्र छन् । प्रअ चौलागाईंले दलित र गरिब परिवारका मात्र विद्यार्थी रहेको बताए ।

‘विद्यालयमा पठनपाठन पनि राम्रो छैन, शिक्षक पनि छैनन्, त्यही भएर अभिभावकले विद्यार्थी पठाउँदैनन्’, उनले भने, ‘भएका पनि सबै दलित र अतिविपन्न परिवारका हुन् ।’ विद्यार्थीको संख्या घटेपछि विद्यालयको अस्तित्व नै धरापमा परेको प्रअ चौलागाईं बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise