२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

अलपत्र वामदेव

ADV
निमिष झा
२०८१ माघ १ गते ०६:४०
अलपत्र वामदेव

काठमाडौं : राजनीतिक जीवनबाट किनारीकृत जस्तै बन्न पुगेका राष्ट्रियसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वामदेव गौतम समयसमयमा आफ्नो घर खोज्दै हिँड्ने गरेका छन् । कहिले नेकपा एमाले, कहिले नेकपा (माओवादी केन्द्र) त कहिले नेकपा (एकीकृत समाजवादी)का नेताका दैला चहार्दै हिँडेका उनले अहिलेसम्म आफ्नो घर भेट्टाउन भने सकेका छैनन् ।

१ वर्षअघि उनी एमालेमा जान तम्तयार भइसकेका थिए तर असन्तुलित अभिव्यक्तिका कारण असफल भए । एमालेमा जान लामो समय रस्साकस्सी गरेका गौतम अध्यक्ष केपी ओलीले वास्ता नगर्दा रोकिएका थिए । गएको निर्वाचनमा समेत धक्का बेहोरेका गौतमले एमाले–माओवादीको एकतालाई जोड्ने दाबी गर्दै तत्कालीन नेकपा विभाजनपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ भन्दै त्यसको संयोजक बनेका थिए । 

तर, यो प्रयासमा उनी सफल हुने कुनै संकेत नै नमिलेपछि एमालेबाट छुट्टिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने निचोडमा पुगे । यसका लागि उनले वार्ता समिति पनि बनाए ।

महासचिव डी. बी. कार्कीको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति बन्यो । समितिमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला छन् । 

वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने भनियो । समितिलाई निष्क्रिय बनाएर गौतमले स्वयं नेकपा एसका अध्यक्ष नेपालसँग कुरा पनि गरे । तर, अहिलेसम्म उनको प्रवेशको टुंगो लागेको छैन ।

यसरी एकपछि अर्को गर्दै धक्का बेहोरेका गौतमले एमालेको ढोका बन्द जस्तो बन्न पुगेपछि नेकपा एसमै जाने निर्णय गरेका बताइन्छ । नेकपा एसमा लैजान पनि अभ्यक्ष नेपालले खास चासो नदेखाएको भन्दै बिच्किएका उनले केही दिन पहिले मात्र पनि एकता नहुने संकेत गरिरहेका थिए । 

उनीसँगै अभियानमा जोडिएका धेरै नेता, कार्यकर्ताहरू एमाले र नेकपा एसमा समाहित भइसकेपछि एक्लो बनेका उनले के गर्लान् भन्ने चासो थियो । तर, उनले छिनछिनमै धारणा बनाउने र जता जसले पहिले बोलाउँछ, त्यतै जाने भनिरहेका थिए । यस कारण पनि उनीमाथि राजनीतिक विश्वास कम हुँदै गएको स्थिति बनेको छ ।

गौतम नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ भन्ने अभियानमा छन् । केही समय पहिले मात्र पनि उनले वामपन्थी एकता गराएरै छाड्ने दाबी गरेका थिए । उनले आफू ज्यूँदो रहेसम्म कम्युनिस्ट एकता गराएरै छाड्ने दाबी पनि गरिरहेका छन् ।

एउटै कम्युनिस्ट पार्टी निर्माण अभियानमा जुट्नुपर्ने दाबी गर्ने वामदेवले पुष्पलालदेखि विभिन्न नेताहरूको नाम लिँदै एकताको सपना देखिरहेका छन् ।

एकताको बहस गरिरहेका गौतममा राजनीतिक वितृष्णा पनि देखिन्छ । एमालेमा जान चाहेर पनि जान नपाएपछि उनले ७५ प्रतिशत एमाले आफूले निर्माण गरेको दाबी गरिरहेका छन् ।

अस्थिर र चञ्चल मन बनाएर बसेका उनले पछिल्लो समय २ चरणको वार्तापछि नेकपा एसमा जाने बाटोलाई भने राजनीतिक ढंगले ‘डिल’ गर्न खोजेका देखिन्छ । 

नेकपा एससँग एकता वार्ताले सकारात्मक रूप लिँदै गएपछि उनी पार्टीमा तेस्रो तहको नेताको रूपमा रहने सम्भावना छ किनभने गौतमले मागेअनुसार अध्यक्ष नेपालले उनलाई संगठन विभागको प्रमुख नबाउने संकेत दिइसकेका छन् । यद्यपि, अस्थिर र चञ्चल स्वभावका वामदेवले अहिले नै एकताको ढोकालाई राम्ररी आत्मसात् गर्लान् भन्नेमा संशय पनि देखिन्छ । 

अस्थिर वामदेव

नेकपा एसमा प्रवेश गर्ने अन्तिम तयारी गरिरहँदा उनले एकाएक एमाले र माओवादी केन्द्रसँग एकताका लागि पनि वार्ता गर्ने निर्णयमा पुगेका छन् । त्यसका लागि पनि उनले आफ्नै नेतृत्वमा वार्ता समिति गठन गरेका छन् ।

अध्यक्ष नेपालले संगठन विभागको प्रमुख नबनाएको झोंकमा गौतमले एमाले र माओवादी केन्द्रसँग वार्ता गर्न आफ्नै नेतृत्वमा ६ सदस्यीय वार्ता समिति बनाएका उनकै अभियानमा सहभागी नेताहरू बताउँछन् । 

अभियानको शनिबार बसेको बैठकले गौतमको नेतृत्वमा उपाध्यक्षहरू महेन्द्र अर्याल, डिल्लीराज भट्टराई, महासचिव डी. बी. कार्की, सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला सदस्य रहेको समिति बनेको हो ।

‘हामी ३ वटै पार्टीसँग वार्ता गर्ने छौं । एमाले, माओवादी केन्द्र र नेकपा एससँग एकताका लागि वार्ता गर्न केन्द्रीय कमिटी बैठकले वार्ता कमिटी गठन गरेको छ’, गौतमको भनाइ छ । उनले आवश्यकताअनुसार वार्ता समितिले ३ वटै पार्टीसँग औपचारिक वार्ता गर्दै जाने बताए । ‘यसअघि हामीले अनौपचारिक ढंगले विभिन्न पार्टीसँग वार्ता गरेका थियौं, अब औपचारिक वार्ता हुन्छ’, उनले थपे ।

नेकपा एससँग सकारात्मक रूपमा बढेको वार्ताको बीचमै उनले एमाले र माओवादीसँग पनि वार्ता समिति बनाएपछि नेपालको पार्टीमा प्रवेश गर्ने उनको प्रवेश फेरि अनिश्चित बनेको छ । उनले फेरि ३ वटै पार्टीसँग एकता गर्न वार्ता समिति बनाएपछि नेकपा एससँग तत्काल एकता नहुने देखिएको छ । गौतमले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने भनेर आफूहरूले नभनेको दाबी गर्छन् ।

‘हामीले एकीकृत समाजवादीसँग तत्काल एकता गर्छौं भनेका थिएनौं । बैठक बसेर निर्णय गर्छौं भनेका थियौं’, गौतमले भने, ‘अब बैठकको निर्णय र आवश्यकताअनुसार अघि बढ्छौं ।’

यसअघि २०८० असारमा गौतम एमालेमै समाहित हुन तयार भइसकेका थिए । त्यतिबेला गौतमले एमालेमा समाहित हुन अध्यक्ष ओलीपछिको दोस्रो वरीयता मागेका थिए । 

एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लागेको र केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्नेसमेत बताएका थिए । ‘उमेर हद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौं, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु । मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती (तुलसा थापा)लाई पठाउँछु, सदस्यता नवीकरण गर्छु । तर, एमाले अध्यक्ष ओलीले मेरै लागि उमेर हद हटाएको घोषणा गर्नुपर्छ’, उनले भनेका थिए ।

गौतमको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले उनको सदस्यता एमालेमै सुरक्षित रहेको व्यंग्य गरेका थिए । एमाले फर्किने गौतमको अभिव्यक्तिसँगै उनको विगतको अस्थिर र अवसरवादी चरित्र पुनः उजागर भएको आलोचकहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise