अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधबार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।
थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्री, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षणसँगै त्यसलाई आय आर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बन(ाएको बताए । ‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । लुम्बिनी प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ’ मुख्यमन्त्री आचार्यले भने, ‘मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ । कला संस्कृतिलाइ पर्वमा मात्रै सिमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ ।’
प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सीप हस्तान्तरण गर्ने बताए ।‘हाम्रा कला संस्कृतिलाई जोगाउँदै समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ । यसका लागि प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छ’ उनले भने,‘समुदायको आर्थिक सशक्तिकरण नगर्दासम्म समृद्धि र विकासको चाहना पुरा हुन सक्दैन । यस अर्थमा कला संस्कृतिको संरक्षण र प्रबद्र्धन जरुरी छ ।’
प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचार–प्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन जोड दिए ।
प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रवद्र्धनको नीति लिएको र सोही अनुरुप प्रदेश स्थापना भएदेखि माघ पर्वलाई भब्य रुपमा आयोजना गरिँदै आएको जानकारी दिए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघ साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसका लागि सभ्यता जोगाउन आवश्यक छ’ उनले भने, ‘प्रदेश सरकार स्थापना भएदेखि मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए ।
‘मौलिक सांस्कृतिले समुदायमा खुसी र उत्सव कायम गरेको छ’ उनले भने, ‘कला संस्कृतिको संरक्षण गर्दै अब आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’ प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्वद्र्धन सबैको साझा मुद्दा बनेको बताइन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए । प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै सार्वजनिक विदा समेत दिएको छ ।